Skip to main content

एक सफल व्यक्तिको असफल कदम


एक सफल व्यक्तिको असफल कदम 


सूर्य बाबुलाई कुनै कुराको दुख थिएन। गान्तोक शहरमा दुई ठूलाठूला महल खडा गरेका थिए। एउटामा भव्य होटल निर्माण चल्छ अर्को महलमा आफू बस्ने सहित दुई तला सरकारी दफ्तर चल्छ। महीनाको मोटो रकम किरायाको नाममा आउँछ। यति मात्र कहाँ हो र नाम्चीमा एउटा घर, पेलिङमा एउटा आलिशान होटल पनि जोडेका छन। सिलगढीमा एक चार बेडरुम प्ल्याट छ। दुई चार साल अघि दुई करोडमा होटल किनेको छ। पुरी र गोवामा पनि होटल किनेका छन भन्ने अपुष्ट हल्ला चाहिँ छ। सूर्य बाबू बजारबाट चामल किन्दैनन आफ्नो ५० ऐकर धान खेतबाट ओर्गेनिक धान चामल नै उसको चुल्हो टम्म हुन्छ। यो ओर्गेनिक शब्द पहिला उसले चलाउँदैन थियो बस्तीको धानको चामल भनेर भन्थ्यो। 
अफिस बन्द भएर घर फर्केर आउँदा ऊ रम दोकानमा पसेर एक बोतल पिटर स्कट व्हिस्की किन्ने गरेको छ। दिउँसो ड्राइभरलाई दुई किलो सुङ्गुरको मासु ल्याउनु लगाउँछ। रुटिन नै जस्तो हुन्छ। यो रुटिन त्यतिबेला भने भङ्ग भएको हुन्छ जब ऊ गान्तोक घरबाट टाढा गएको छ भने अथवा कुनै सरकारी भ्रमणमा गइएको छ भने। घरमा उसले सुङ्गुरको मासु पकाउनको निम्ति अर्कै चुल्हो भान्सा घर बनाएको छ। दाउरा कोइला पाइहाले यही दोस्रो भान्सा घरमा पकाइन्छ। हुनत गान्तोकमा आगो बाल्न दाउरा र कोइला दुवै दुर्लभ छ। पहिला प्रशस्तै पाइन्थ्यो तर हिजोआज पाइँदैन। मट्टीतेल उसलाई चलाउन मन पर्दैन गनाउँछ भनेर। ग्यास चुल्होको चलन बडेपछि बडी यही चलाइन्छ। कोही बेला कुकिङ हिटर पनि चलाउँछ। तर यसमा तापमान घटबढ गर्न नहुने हुनाले उसले उति चलाउँदैन, किन्न चाहिँ दुई तीनवटा किनेर राखेको छ। 
सुङ्गुरको मासु पकाउन ऊ आफूलाई सक्षम लाग्छ धेरै मीठो पकाउँछु लाग्छ। घरका अरूले पकाएकोमा उसलाई सन्तोक हुँदैन, स्वाद पर्दैन। के नपुगेको खल्लो जस्तो हुन्छ। कति हाल्नु पर्ने मसला, तेल कति हाल्नु पर्ने, कति समय तापमा राख्नुपर्ने, नुन कति हाल्नुपर्ने यी सबको हिसाब किताब उसलाई मात्रै आउँछ भने जस्तो लाग्छ। 
सुङ्गुरको ग्यारी उसलाई औधि मन पर्छ तर यसको तयारी र पकाउने तरिका भने उसले सिक्न सकेको छैन। खासमा ऊ पाककलामा उति राम्रो चाहिँ होइन। 
मासु पाकिसकेपछि उसले ड्राइभरलाई बोलाएर दुई चोक्टा दिन्छ र भन्छ "तँ बेसी नखा, यति मात्रै खा। यस्तो बोसोसरिको सुङ्गुरको मासुले हेल्थ बिगार्छ।" तर आफू भने एक थाल दर्जनभर टुक्रा हालेर व्हिस्कीसित उज्यालो अनुहार बनाउँदै खान थाल्छ।
सूर्य बाबुलाई आफ्नो जीवन एक सफल जीवन हो लाग्थ्यो। आफूले हासिल गर्न सकेको उपलब्धि नै मान्थ्यो। आफूले कमाएको सम्पत्ति आफ्नै सुख भोगको लागि हो। कसैलाई परोपकार गर्न कसैलाई खुशी बनाउनको लागि होइन। आफू खुशी रहे मात्र अन्य खुशी देख्न सक्छ भन्ने उसको विचार थियो। नभन्दै मन्दिर गुम्बामा भने गतिलो चन्दा दिन्थ्यो। कुनै साधु महाराजलाई भेटी चडाउनु पछि नहट्ने। बाटोमा कोही भिखारी देखे भनेर नाक खुम्च्याउने र भन्ने "ठगारहरू ! काम गर्नुको अल्छीले भिखारी भा'को। "
हुनत उसलाई कुनै आर्थिक चिन्ता थिएन तर अवकाश हुने समय आइपुग्न लागेको थियो। सरकारले उसलाई पुन नियुक्ति दिने हो वा नदिने यसको निश्चयता थिएन। यही अवकाशको जीवनलाई सम्झेर उसको मन खलबलिन थालेको थियो। के गर्ने कसो गर्ने? ठिकै हो पैसा छ घर खर्चको कुनै चिन्ता छैन। पुगिसरी छ। तनखा नपाए पनि लाखौं आम्दानी उसको निश्चय छ। ब्यांकमा राखेको फिक्स्ड डिपोजिटबाट वर्षमा पचास लाख बडी पाउछ। पोर परार साल ऊ अमेरिका सपरिवार घुम्न जान यस्तै पैसाले पर्याप्त भएको हो। चालिस पचास लाख खर्च भएको थियो। यत्रो पैसा खर्च भयो भनेर मन नखटकिएको होइन तर पत्नी छोराछोरी सबै अमेरिका घुम्न पाउँदा जुन खुशीको अनुहार उनीहरूमा देखिए त्यसले एकप्रकारको सन्तुष्टि उसको मनलाई दिएको थियो। हुनत घुम्दा भएको खर्च पछि आएर कन्ट्राक्टर सप्लायर अनि एकदुई परियोजनामा कामै नगरी बिल भुक्तान गरेर भए पनि उकासेको थियो। 
बाहिर साथी भाइसित कुरा गर्दा र अफिसका अन्य कारिन्दामाझ ऊ भ्रष्टाचारबारे पुरै भाषण छाट्थ्यो। भ्रष्टाचारीहरू देशद्रोही हुन। उनीहरूलाई कठोर भन्दा कठोर सजाय हुनुपर्छ। भ्रष्टाचारी त के उसको सन्तान सबैलाई सरकारी तन्त्रमा काम गर्न प्रतिबन्धित गर्नुपर्नेछ। यस्तै भन्थ्यो उसले। तर आफैंले गरेको भ्रष्टाचारलाई भने उसले भ्रष्टाचार भन्दैन थियो। उसले यसलाई आउटइन्कम भन्थ्यो। आफूले धेरै परिश्रम गरे बापत थप आय बडेको मात्र हो। विभागको बजेट बनिएर आउँदा प्रत्येक वर्ष कति रकम छुट्याइएछ भनेर उत्सुकतासाथ हेर्ने गर्थे। बजेट खातामा भएको सबै रकम उसलाई लाग्थ्यो त्यो जनताको रकम होइन तर उसको निजी  ब्यांक एकाउन्टभित्रको हो जस्तो मान्थ्यो। यसैले धेरै बजेट आवटन हुँदा ऊ प्रसन्न हुन्थ्यो। तर जब ऊ अवकाशमा रहनुपर्ने हुन्छ उसलाई यो बजेटको रकमबाट टाढिनु पर्ने विषयले चिन्तामा डुबाएको थियो। बजेट उसको नियन्त्रणमा हुने छैन। यो नै उसलाई एक विषादको विषय भएको थियो। अर्को सुर्ता के भयो भने उसले मस्टर रोलमा तलब दिएर घरमा भान्से र यताउता उसको अरनखटनको निम्ति राखेकाहरू के हुनेछ? उनीहरू फिर्ता गर्नुपर्नेछ। गाडी पनि ड्राइभरसितै फिर्ता गर्नु पर्नेछ। फोकटको गाडी ड्राइभर नोकर सबै खोसिनेछ। यी सब खोसिँदा उसको हैसियत नै खोसिएको हुनेछ। त्यसपछि उसको समाजमा के इज्जत रहनेछ। यसले उसलाई तनावग्रस्त बनाउन थालेको थियो। उसको अनुहारबाट मुस्कान हराएको थियो। झिँझट मान्ने झर्किने कालो अनुहार लिएर हिड्ने भएको देखेर एकदिन उसकी पत्नीले बेलुका भनी "यो मान्छेलाई अचेल के भाको छ ? के पुगेन तपाईंलाई ? के बिमार छ ? " 
उसले जवाफ दियो " केही भाको छैन। हामी अफिसमा काम गर्नेलाई कस्तो कस्तो आइपर्छ तिमलाई काँ था हुन्छ ?"
अवकाश हुन दुई महिना अघि उसले पत्नीलाई भने "यो शनिवार गुरुजीको दर्शन गर्न जानुपर्छ।"
उसलाई जहिले पनि कुनै साह्रो गाह्रो पर्छ त्यतिबेला गुरुको स्मरण गर्छ। 
गुरुजीप्रति उसको पत्नीले पनि उत्तिकै श्रद्धा राख्थिन। यही कारण प्रसन्न भएर भनेकी थिई " अँ हौ ! गुरुजीको दर्शन नगरेको निकै भयो। झट्ट जानुपर्छ। उहाँको आशिर्वादले हाम्रो घरमा शान्ति छ। " 
गुरुजी कुनै शहर वा गाउँमा नबसेर एक निकै टाढाको गाउँको सिरानमा भएको जङ्गलमा बस्ने गर्थ्यो। जङ्गलमा ओडार थियो। त्यही ओडारको छेउ उनका भक्तहरूले कटेरा बनाइदिएका थिए । त्यहाँ जान बाटो सहज थिएन। नजिकको गाउँसम्म त गाडीको बाटो थियो कालोपत्रे नभएको। तर गाउदेखि झन्डै एक किलोमिटर हिडेर जानुपर्ने, बाटो पनि अपठ्यारो। 
सूर्यबावु उसकी पत्नी र दुई सहयोगी पुगे गुरुजीको दर्शन र आशिर्वाद लिनको निम्ति। थरीथरीका फल, राम्रा राम्रा बिस्कुटको दर्जन बडी पेकेट, एक टिन खानेतेल, एक टिन डाल्डा, घिउ, फूलको माला, सयपत्री फूलको एक झुत्ता, दुई तीन किलो मिठाइ आदि थिए। समान बोक्ने भरिया तल गाउँबाट बन्दोबस्त गरिएको थियो। 
गुरुजीको आश्रममा पुग्दा उसले देख्यो त्यहाँ अघिबाटै दस बीस भक्तजन भेला भएका थिए। 
उसलाई देखेपछि गुरुजीले आफ्नो शिष्यलाई अह्राए। नजिक गएर उसले प्रणाम गर्यो। विनम्र भएर भन्यो " गुरुजीको दर्शन गर्न नपाएको निकै बितिसक्यो। गुरुजीको दर्शन नभइ मेरो मनमा चैन हुँदैन।"
गुरुजी केही क्षण आँखा चिम्म गरेर केही मन्त्र जाप गरे जस्तो गरेको देखियो। त्यहाँ मौनता छायो। चारैतिर चकमन्न भयो। भक्तहरू एकाग्र चित्तले बसिरहेका थिए। 
गुरुजीले उसको शिरमा जल छर्के। झामर हल्लाए। 
अनुहार धपक्क बलेको जस्तो देखियो गुरुजीको। अति प्रसन्न मुद्रा झल्कियो। 
अनि बोल्न लागे " तिम्रो घरमा म झन्डा देखिरहेछु। भाग्य उदाएको छ।"
थप केही बोलेनन् गुरुजी।
उसले साष्टाङ्ग दण्डवत गरे। उसकी पत्नीले आफ्नो शिर साडीको पल्लुले ढाकेर गुरुजीलाई ढोकिन। 
फलफूल अन्य भेटी अघि नै चडाइसकेका थिए। उसले कोटको गोजीबाट पाँच सयको नोटले भरेको बाक्लो लिफा निकाल्यो र खादाले बेह्रेर गुरुजीको अघि फेरि प्रणाम गरेर चडायो। 
फर्केर आउँदा श्रीमतीले देखिन ऊ एकदमै प्रसन्न मुद्रामा थियो। सँधै ऊ हिडदा सुस्त चालले हिडने तर अहिले निकै फुर्ति देखाएर दुवै हात परेड खेलेको जस्तो हल्लाएर हिडदैछ। उसको यो चालले श्रीमतीलाई चाप परिरहेको थियो। अपठ्यारो बाटो हिडन सकिरहेकी थिइन। झर्केर भनी " किन कुदनु भएको ? विस्तारै हिडदा पनि पुगिहाल्छ। किन हतार गर्नु भएको ?"
ऊ फर्केर मुसुक्क मुस्कायो र श्रीमतीलाई पर्खे अनि सँगसँगै हिडन थाले। 
गाडीमा बसिसकेपछि उसले श्रीमतीतिर फर्केर भन्यो "तिमीले बुझ्यो ? गुरुजीले के भन्नुभएको हो ?"
"खई ! मैले राम्रो बुझिनँ। घरमा झन्डा भन्नुभयो। घरमा लुङदर लगाको छ। पर पुजा कोठाको छानामा तोरण पनि छ। सबै झन्डै हो। अब अर्को के हो ? गुरुजी अन्तर्यामी हुनुहुन्छ हाम्रो घर नदेखी दिव्य दृष्टिले सबै देख्नु भयो होला।"
केही क्षण रिसाएको जस्तो अनुहार पारेर उसले श्रीमतीलाई हेर्यो। दिक्क भएको जस्तो गर्यो। छड्के नजर लगाएर भन्यो " कस्तो नबुझेको ? गुरुजीले झन्डा भनेको हाम्रो घरमा भएको झन्डा कहाँ भनेको हो ? हाम्रो घरमा कहिले पाल्नु भएको छ र देख्नु ?"
"अन्त केलाई भनेको त ?"
"गुरुजीले राष्ट्र झन्डा भन्नुभएको हो। राष्ट्र झन्डा कसले लगाउँछ ? मन्त्रीले लगाउँछ। गुरुजीले देख्नु भएछ म मन्त्री हुनेछु भनेर। भोटमा लडनु भन्नुभएको हो। भोट लडे चुनाव जितिहाल्छ र मन्त्री हुनेछ।"
पति पत्नी दुवै खुशी भए। 
एउटा राम्रो होटलमा पसेर दुई नौकर र ड्राइभरलाई भने तिमारू के के खान्छौ मगाएर खाऊ। केही रोकटोक छैन। बियर चाहिँ बेसी नखानू। एक एक बोतल खाऊ। मासु माछा जे मन पर्छ त्यही मगाएर खाऊ। 
पति पत्नी एउटा क्याबिनमा पसे। ऊ निकै मुडमा थियो। बियररलाई भन्यो "स्कच व्हिस्की ल्याऊ। प्रअन फ्राई नभए फिस कटलेट। "
श्रीमतीले रेड वाइन लिइन। वाइनसित फ्रेन्च फ्राई मगाइ। मासुमंशा उति मन पराउँदिन। 
बेलुका घरमा आएर उनीहरूको सरसल्लाह शुरु हुन थाल्यो।
अर्को वर्ष चुनाव वर्ष हो। ऊ यो वर्षको नोभेम्बर महिनामा अवकाशप्राप्त हुनेछ। चुनाव अर्को सालको मई महीनामा हुनेवाला छ। लगभग छ महीना समय पाउने देख्यो उसले। हुनत सर्भिस एक्स्टेन्सनको आशा पनि छ। सर्भिस एक्स्टेन्सन भए जारी राख्ने विचार गरेको छ। एक्स्टेनसनको लागि ऊ एकपटक मन्त्रीकोमा धाइसकेको हो। मुख्यमन्त्रीलाई भेट्न एपोइन्टमेन्ट मिलाएको हो तर स्वीकृति पाएको छैन। मुख्यमन्त्री व्यक्तिगत स्तरमै चिनाजाना भएको हुनाले उसलाई लाग्छ समय नमिलेर स्वीकृति नभएको र भेट्न पाए उसको एक्स्टेन्सन अनुमोदन हुनेछ। 
हाल यता गुरुजीको कुराले उसको हौसला अझ बडेको छ। उसको दिन उज्ज्वल रहेको खुद गुरुजीले बताउनु भएको छ। उहाँ जस्तो दिव्य पुरुषले भनेको सबै सत्य हुन्छ। यसैले उसलाई लागिरहेको थियो जसो भए पनि उसलाई फलिफाप नै हुनेछ। चिन्ता गर्ने विषय छैन। 
भन्दा भन्दै उसको अवकाशको दस्तावेज जारी भयो। उसलाई उदेक लागिरहेको थियो कति कोशिस गर्दा पनि मुख्यमन्त्रीको एपोइन्टमेन्ट पाउन सकेन। उसको आफ्नो भनाइ मुख्यमन्त्री अघि राख्न सकेन। एक हप्ता अघिको कुरा हो। अपरान्ह दुई बजेतिर होला उसका कनिष्ठ अधिकारीहरूको समूह उसको केबिनमा आएका थिए। केही भलाकुसारी पछि मुख्यमन्त्रीसित भेटघाट हुन नसकिरहेको चर्चा भयो। उसले सिधा जवाफ नदिएर भनेको थियो यो महीनासम्म त मेरो फुल पावर छ। डिसेम्बर एक तारिख हेरौं के हुँदोरहेछ। उसको तेवर देखेर साथी अधिकारीहरू अवाक बने र नबोली सबै बाहिरिए। 
एक तारिख अफिस गयो। कुनै सूचना आएको थिएन। उसले आफूसित काम गर्ने कर्मचारीलाई भन्यो भोलिसम्म निधो हुनेछ। 
हप्ता दिन बितिसक्दा पनि उसको सर्भिस एक्सटेन्सनबारे कुनै सकारात्मक सूचना नआए पछि उसले आफ्नो निजी कागज पत्र दस्तावेज सगाँल्नु थाल्यो। उसको कर्मचारीहरूले सघाउ पुर्याए। 
सबै लिएर घरमा आउँदा उसको मनमा फेरि गुरुजीको स्मृति आयो। गुरुजी सम्झने बित्तिकै उदास मन प्रफुल्लित हुन पुग्यो। गुरुजीले भविष्यवाणी गर्नु भएको छ म मन्त्री हुनेछु भनेर। मन्त्री भइयो भने त अहिलेको सुविधा भन्दा कता हो कता धेर बडेर जाने हो। पावर त झन के कुरा गरौँ। मसित चौबीसै घन्टा एक एके 47 बोकेको सुरक्षा कर्मी मेरो सुरक्षामा तैनाथ हुनेछ। कार्यलयमा मेरो प्राइँभेट सेक्रेटेरी स्टेनोग्राफर, दुई चारजना अफिस पिउन, परसनल एसिस्टेन्ट लस्कर हुनेछ। केही कर्मचारी म आफै नियुक्त गर्नेछु को टर्मिनस बेसिसमा। पैसाको त वर्षात नै हुनेछ। अहिले जस्तो आफैंले चाँजो मिलाउनु नपर्ला। विभागका अधिकारी सुटकेसमा लिएर आऊला लाख लाख रुपियाँ। कति हो कति गन्ती गर्न फुर्सद नहोला। कस्तो दिन हुनेछ त्यो ऊ कल्पनामा मस्त हुन्छ। 
सूर्यवाबुले विचार गर्यो उसले चुनाव लडनु पर्नेछ। स्वतन्त्र उम्मेदवार भएर चुनाव लडनु सिक्किममा खासै महत्त्व हुँदैन। जिते भने पनि बेकामे नै हुन्छ। जुन दलले जितेको छ क्षमता उसकोमा मात्र हुन्छ। इन्डिपेन्डेन्ट एमएलए भनेको यता झन्डी हुनु हो। खालि यता र उता कुदनु काम कुनै फत्ते गर्न नसक्नु। झण्डा जस्तै हल्का हावाले जताभावि पार्ने। उसले सोच्यो ऊ झण्डी नहुने। कुनै दलको टिकटमा चुनाव लडने। जित्ने दलको टिकटमा चुनाव लडने। 
एकदिन घरमा बेलुका सबै परिवारको सभा आयोजन भयो। उसले आफ्नो परिवारलाई आफ्नो ईच्छा जाहेर गर्यो। ठूलो दुई छोराहरू सानोतिनो सरकार सेवामा थिए। दुवैले केही बोलेनन्। दुई साना छोराहरूमा एकजना बेरोजगार थिए। सबैभन्दा सानो कलेजमा पढदै थिए। बेरोजगार छोराले भन्यो तपाईं रिटायर हुनु भयो। केही त गर्नुपर्नेछ। तपाईं भोट लडनु होस। हामी सबै छँदैछौँ। चुनाव त ह्याकुला मिचेर भए पनि जितिनेछ।
सूर्यलाई झनक्क रिस उठ्यो र छोरालाई हपारेर भन्यो " तँ फेरि आज ड्रग खाएर आइस ? तँ निकै बोल्दैछस ? 
एई आमा चै ! यल्लाई तिम्ले कन्ट्रोल गरेनौ ?" 
"अन्त एल्ले मैले भनेको काँ मान्छ ?" छोरापट्टि फर्केर भनी " तँलाई कोले बोल भन्यो। चुप लागेर सुन। बाबाको कुरा राम्ररी सुन।"
छोरा जुरुक्क उठेर गयो। 
सूर्यले निकै स्रोत लगायो। आफूले चिनेको जानेको कन्ट्र्यकटर, सप्लायर, एक दुई राजनीतिक चिनाजान र बस्तीतिर पनि सोधिपठायो। उसको स्रोत अनुसार उसले थाहा पायो आउँदो चुनावमा सत्ताधारी दल हार्नेछ। कसैले त एउटै सिट पनि जित्दैन भन्दैछ। प्रमुख विपक्षी दल धेरै शक्तिशाली भएर आएको छ। जित्ने सम्भावना धेरै छ त के सलिड लान्छ भन्दैछ। यही कारण टिकट माग्नेको भीड छ अरे। पार्टीको टिकट ककसले पाउने हो यसै भन्न सकिरहेको छैन। 
उसलाई राजनीतिको अनुभव छैन। वास्तवमा ऊ सरकारी सेवामा रहुञ्जेल जुन दलको सत्ता छ त्यही दलको वडीबडाइ गर्ने उसको स्वभाव रहेको थियो। उसले विभिन्न राजनीतिक दलको वैचारिक भिन्नता, कार्यशैली प्रणाली र उनीहरूले लिने अडानबारे कहिले ध्यान दिन आवश्यक ठानेन। उसको निम्ति सबै राजनीतिक दल एक समान लाग्थ्यो। उसलाई लाग्थ्यो सबै राजनीतिक दल शक्ति सत्ता र धनकै पछि हुने हो। जनकल्याण त देखावटी मात्र हो। नभन्दै उसलाई जनकल्याण जस्तो मुद्दा वाहियात पनि लाग्थ्यो। सबै मान्छे आफ्नै लागि कमाउने हो अर्काको लागि कसैले नौ धर्का पसिना चुहाएर काम गर्ने होइन। जनकल्याण भनेको त भिख दिएको जस्तो हो जो लाचार छ गरिखान सक्दैन कुनै सडक वा गल्तीमा हात फैलाएर बस्ने भिखारीलाई फ्यात्त एकदुई पैसा फ्याकेको जस्तो हो। एक बदनाम जीवन जस्तै हो। यसैले कुनै राजनीतिक नेताले जनताको भलाईको लागि यो गर्नेछु वा गर्दैछु त्यो गर्दैछु जस्तो दावी जनताको लागि नभएर आफ्नै राजनीतिक भविष्य सुरक्षित गरेको मात्र हो। यसैकारण ऊ भित्रीमनबाट राजनीति र राजनीतिज्ञलाई घृणाको दृष्टिले नै हेर्ने गरेको थियो। निम्नकोटिमा राख्थे। तर उसले देखावटी भने खुबै गर्थ्यो। कुनै एमएलए, सत्ता दलको ठूलो नेता वा मन्त्री वा मुख्यमन्त्रीसम्म पहुँच भएको कोही पनि सज्जनलाई भेटे उसले भगवानलाई भेटे जस्तो गरिहाल्थ्यो। अफिसमा यस श्रेणीका कोही आए चौकीबाट हतारहतार उठेर मुख कानकान सम्म पुर्याएर अत्यन्त गौरवान्वित भएको जस्तो देखाउँथ्यो। 
ऊ भित्रभित्रै मुस्कुराउदै सोँच्छ जसलाई म घृणित सम्झन्थे आफै पनि त्यही भूमिकामा पुग्न लागेको छु। उसलाई लाग्छ यो नयाँ भूमिका पनि त्यति कै सुन्दरताको निभाउनेछ। कुनै पछुतो हुने छैन। आखिर मान्छेलाई चाहिको हो सत्ता र सम्पत्ति। यी दुई साथ रहे पाप र धर्मको मापदण्ड उसले निर्धारण गर्ने हो कुनै भावीले होइन। यो पनि युद्ध जस्तै हो। भनिन्छ नि एभरिथिङ इज ओेयर इन लभ एन्ड वार। सत्ता र सम्पत्तिको निम्ति कुनै बलिदान पर्याप्त हुँदैन। साम दाम दण्ड भेद सबै हतियार चलाएर भए पनि सत्ता र सम्पत्ति आफ्नो वशमा पार्नुपर्छ।
हुनत उसको स्रोतले बताएको हो विपक्षी दल जनताबीच लोकप्रिय भएको छ र आउदो चुनाव विपक्षी दलले नै जित्नेछ। तर उसलाई लाग्यो सत्ता दल भनेको सत्ता दल नै हो। आखिर सत्ता उसको पक्षमा अहिले छ। सत्ता दलको क्षमताको अवमूल्यन गर्न मिल्दैन। के ठेगान सत्ता दल कै जित होला चुनावमा ? सत्ता दलको मातहत चुनाव लडनु धेरै सजिलो हुनेछ। पूरा सरकारी तन्त्र चुनाव नसकिञ्जेल सरकार कै अधीन हुन्छ। सरकारी तन्त्रले नै चुनाव गराउने हो। निर्वाचन आयोग नामको लागि मात्र हो। 
सूर्यले आफू चुनाव  सत्तासीन दलको उम्मेदवार भएर लडने रणनीति तयार गर्यो। उसको स्रोत र मित्रहरूले दिएको सुझावको विपरीत थियो निर्णय। शुणचिन्तकको के भरोसा ? उनीहरूले कुन विचारले विपक्षी दलको उम्मेदवार हुनु भनेको कसरी सही छ भन्नू ? के यसमा कुटिलता छैन ? ऊ आफ्नो यो नयाँ सोँचमा आफै गजक्क परेर खुशी भयो। कसो उनीहरूको कुरा सुनेर भडखालोमा परिएन। आफू बाठो चलाख बुद्धिमानी भएकोमा आफैंलाई गर्व लाग्यो।
पहिलो कदम एमएलएलाई नै भेटेर चाल्ने सरसल्लाह भयो घरमा। अर्को बिहान उसले मिठाइ, खादा, महङ्गो व्हिस्की बोकेर हिड्यो छोरालाई साथ लिएर। गाडी छोराले चलाइरहेको थियो। 
एमएलएले सुझाव दियो पहिला पार्टी जोइन गर्नुपर्नेछ भनेर। यसको निम्ति पार्टीको सदस्यताको निम्ति आवेदन, पार्टीको सदस्यता लिँदा दिनुपर्ने सदस्यता शुल्क र आफूले सक्दो पार्टीलाई सहयोग राशि दिनुपर्ने उसलाई बताइयो। पार्टी कार्यलय जानुपर्ने र त्यहाँ पार्टी प्रशासनको जिम्मेवार व्यक्तिलाई भेट्नु पर्ने थियो। 
उसले भने जस्तो प्रवेश पत्रको फारम भर्यो। सदस्यता शुल्क धेर थिएन। बुझायो। पार्टी फन्डको पहिलो किश्ती भनेर पाँच लाख दियो। प्रशासनिक अधिकारीले उसलाई सूचित गर्यो उसको आवेदन सिफारिस भएर पार्टी अध्यक्षकोमा जानेछ र स्वीकृति भए पछि कुनै एक भव्य कार्यक्रममा पार्टीभित्र सामेल गराएको औपचारिक स्वागत जनाइनेछ। 
हप्ता दिनपछि एउटा ठूलो राजनीतिक कार्यक्रम भएको थियो। त्यो कार्यक्रममा ऊ जस्तै अन्ग चालिसजना पार्टीमा सामेल भएको घोषणा हुने रहेछ। त्यही दिन उसले अर्को समाचार सुन्यो यस्तै पार्टी कार्यक्रम पन्द्र दिनपछि फेरि हुनेवाला छ जुन समय सयजना पार्टीमा सामेल भएको घोषणा गरिनेछ। 
 यति धेरै नयाँ सदस्य सबै के टिकट पाउनुको लागि आएका हुन ? के उनीहरू सबैलाई टिकट पाउने आशा छ ? यति धेरै त सिट नै छैन। फेरि पुरानो मन्त्री छन एमएलए छन। उनीहरूले त यसपालि पनि टिकट पाउला। उनीहरूलाई ड्रप त गर्दैन होला। अनि उसको मनमा चिसो पस्यो। पाँच लाख पार्टी फन्ड त दिइसक्यो। के गर्ने ? होइन, उसको आशा छ। यस्तै लाग्यो। समय छ अझै। पार्टी अध्यक्षले विचार गरेर टिकट बाडने हो। पैसा पेलेर भए पनि टिकट लिइछाडनेछु भयो उसलाई। एउटा नयाँ आशंका भयो त्यहीबेला यति धेरैले पार्टीको सदस्यता लिइरहेका छन के सबैले पाँच पाँच लाख पार्टी फन्ड दिए ? पार्टीमा आउने सबै त पैसावाला थिए जस्तो लाग्दैन। कतिजनाको लुगाफाटा लगाइ हेर्दा उसको आर्थिक स्थिति दह्रो छ जस्तो थिएन। होइन, उनीहरू सबै पार्टीमा टिकट पाउनको आशाले होइन तर पार्टीभित्र रहोस जसले उनीहरूलाई सुरक्षा र लाभ दुवै दिनेछ भन्ने भरोसा जगाउनेछ। यसो हो भने उसले पार्टीबाट टिकट पाउने प्रबलता रहनेछ। आंखिर उसले पार्टी फन्ड दिएको छ। 
चुनावको घोषणा साथै पार्टीले आफ्नो उम्मेदवारको पहिलो सूची प्रकाशित गर्यो। उसको नाम नदेखेर हताश भयो। यसैबीच उसले हल्ला सुन्यो सत्ता दल नराम्रो पाराले पराजित हुनेछ। हुनसक्छ एकै सिट पनि जित्न नसक्ला जिल्ल होल। हुनु पनि उसले देख्यो एकदुई ठाउँका जनसभामा भीड कम थिए। उपस्थित भीडमा पनि उत्साह देखिन्नथ्यो। 
दोस्रो सूची पनि आयो उसको नाम थिएन। त्यसपछि भने ऊ अत्तालिन थाल्यो। उसले बुझ्यो उसले टिकट नपाउने रहेछ उसलाई टिकट नदिने रहेछ।
अब उसको विकल्प विपक्षी दलमा नगइ नहुने भयो। चारैतिरबाट हल्ला पनि फैलिरहेको छ विपक्षी दलमा अपार भीड लागिरहेछ। धेरैजनाले दिनहुँ पार्टीमा सदस्यता लिँदैछ। उसलाई लाग्यो उसले सत्ता दलमा लागेर भूल गरेछ। शुरु मै विपक्षी दलमा जानुपर्ने थियो। सायद अब ढिलो भयो होला। तर एकपटक कोशिस गरिहेर्नु पर्यो भन्ने सम्झ्यो। 
ऊ एक साझ विपक्षी दलको पार्टी कार्यलयमा सुटुक्क गयो। धेरै भीड थियो। त्यहाँ उसले देख्यो सत्ता दलमा हुने कतिजना यहाँ पनि डुलिरहेका छन। 
उसले थाहा पायो पार्टी अध्यक्ष कार्यलयमा आएका छन। उसले यो मौका छोडनु हुँदैन भन्ने लाग्यो र भेट्ने अनुमति माग्यो। आधा घन्टाको प्रतीक्षा पछि उसको पालो आयो। पार्टी अध्यक्ष एकलो देखेर ऊ झसङ्ग पनि भयो। बाहिर भने मानिसहरू थिए। 
उसले विपक्षी दलमा भर्ना हुने इच्छा प्रकट गर्यो र किन भर्ना हुँदैछ त्यो पनि बतायो। 
पार्टी अध्यक्षले सोझै भन्यो टिकट उसैलाई दिनेछ जसले पार्टीलाई सही रुपमा सघाउ पुर्याउनेछ। यो चुनाव सहजै जितेर आउनेछ। सलिड भोट पाउनेछ। चुनाव त औपचारिकता मात्र हो। चुनाव पछिको सरकार उनीहरूको हो।
अन्तमा आएर पार्टी अध्यक्षले भन्यो पार्टी फन्ड एक करोड दिनुपर्नेछ। यति दिएपछि टिकट पाउनु निश्चित हुनेछ। उम्मेदवारको आधार यसैमा छ। भोलि देखि नाम निस्कन थाल्नेछ र रकम दिए पहिलो सूची मै नाम आउनेछ।
टिकट पाउने लोभले उसले जवाफ दियो ऊ एक करोड पार्टी फन्ड दिन राजी छ। भोलि बिहान एक करोड रकमको चेक बुझाइदिनेछ। 
अध्यक्षले भन्यो चेक लिँदैन उनीहरूले क्याश मात्र लिन्छ। क्याश दिन सम्भव छैन भने त्यो चेक पार्टीको नाममा जारी भएको नभएर अन्य कुनै व्यक्तिको नाममा हुनुपर्नेछ जो अध्यक्षले उनले बताए अनुसार हुनेछ। उक्त व्यक्तिले क्याश भुक्तान गरेर पार्टीलाई दिनेछ। यही कारण रकम प्राप्तिको कुनै रिसिट दिइने छैन। सबै अन्डरस्टन्डिङमा चल्नु पर्नेछ। 
अर्को दिन उसले एक करोडको चेक दियो एक अनजान व्यक्तिको नाम लेखेर। दुई दिनपछि पार्टीको उम्मेदवारको सूचीमा उसको नाम आएको देख्यो। सबैले उसलाई बधाई दियो। घरमा सबै खुशी भए। पार्टीको माहौल भयो। धेरैजना भेला भए। कसैले खादा लगाइदिए। कसैले मिठाइ लिएर आए। कसैले एक केस बियर लिएर आए। उसले चुनाव जितेको जस्तै भयो। हुनत चुनाव आउन अझै समय थियो। 
एक करोड ब्यांकबाट रकम जाँदा उसको फिक्स्ड डिपोजिट तोडनु परेको थियो। मुटुमा चस्स नलागेको होइन। ब्यांकको जमा पुँजी रित्तो पार्नु भएन। यसैले चुनाव खर्च आफ्नो कुनै सम्पत्ति बेचेर जोहो गर्नुपर्ने देख्यो । यसको निम्ति उसले आफ्नो खेती जमिन पहिलो देख्यो जो उसको निम्ति खासै उपयोगी थिएन। ऊ लगायत उसको कुनै छोराहरू खेती गर्दैनन्। धान खेत अरुले कमाइ गरेको छ। त्यति हो यसबाट आएको धानले वर्षभरि चामल किन्नु पर्दैन थियो। तर चामल बजारमा पाइहाल्ने हो। खेतकै धान चाहिन्छ भन्ने जस्तो कुनै तुक छैन। यसैले उसले खेत बेच्यो चालिस लाखमा। उसले सोचेको थियो करोड भन्दा कम दाममा बेच्ने छैन भनेर। बाटोदेखि टाढा, पानीको मुहानमा झमेला, एक छेउ पहिरो लागेको, तलतिर खोलाले तान्दै गरेको अनेक झ्याउला देखाएर धेरै मोल दिन मानेन। 
चुनाव लडेर जिते यस्तो खेत कति किनिन्छ किनिन्छ जस्तो लाग्यो। हाल पैसा धेरै चाहिएको हुनाले जमिन नबेची नहुने भयो। 
नोमिनेसान फाइल गर्दा सबैले जनसमर्थन देखाउन आफ्नो समर्थकको लश्कर देखाउने गरेको देखेर उसले पनि त्यसै गर्ने भयो। आफ्नो समष्टिको पार्टीको स्थानीय नेतासँग सरसल्लाह गरी जनता बोलाउने प्रस्ताव गर्यो। तीन सयजना ठिकै हुन्छ भन्ने तय भयो। तीन सयजनाको लागि ३० वटा गाडी भन्नू पर्ने थियो। तर स्थानीय नेताले ५० वटा गाडीको माग राख्यो। नाई नास्ति गर्नु भएन। एक गाडीको पाँच हजारको दरले २५ लाख खर्च हुने भयो। चिया खाजाको लागि अलग पाँच लाख। ३० लाख खर्च एकैपटकमा भयो। हुनसक्छ सबै पैसा यही कुराको लागि नभएर स्थानीय नेताले आफ्नो गोजी भर्यो होला। तर अहिले बिच्क्याउनु मिलेन। 
उसको ब्यांकमा राखेको जमा पुँजी पाँच करोड बडी थियो एक करोड पार्टी फन्ड दिदा घट्यो। फेरि उसले सोच्यो यो पाँच करोड सके त के भयो पछि जितेर मन्त्री भए पच्चीस करोड कमाइनेछ। गुरुजीको आशिर्वाद छ। उहाँले भविष्यवाणी गर्नु भएको छ उसको जीत निश्चय छ। 
स्थानीय नेताले सुझाव दियो समष्टिको प्रत्येक ब्लकमा पार्टी अफिस खोल्नु पर्नेछ। बीस ब्लक छ। बीस अफिस खोल्नु पर्नेछ। जनतालाई पार्टी कार्यकर्तासित भेटघाट गर्न जनताको मन बुझ्न यसले सहयोग गर्नेछ। पार्टी अफिस साथै यसको निम्ति चौकिदार र कामदार पनि नियुक्त गर्नुपर्नेछ। अफिसबाट चिट्ठी पत्र प्रचार सामग्री बाडन सजिलो हुनेछ। नभन्दै यसमा धेरै खर्च नदेखिएको हुनाले उसले खुशीको साथ स्वीकृति दियो। दस बाह्र लाख मात्र खर्च आउने देखियो। 
प्रचार सामग्री जस्तै पोस्टर, पेम्फ्लेटहरूमा भने सामान्य खर्च नै भए। 
उसको नोमिनेसन स्वीकृत भएर दलको औपचारिक उम्मेदवार घोषणा भएपछि उसलाई दलबाट निर्देश भयो आफ्नो निर्वाचन क्षेत्रमा गएर प्रचार गर्न भनेर। उसलाई लागेको थियो यो त पार्टीले आफै गर्छ होला र उसको उपस्थिति मात्र आवश्यक होला। तर अहिले आएर बल्ल बुझे उसको प्रचारको सम्पूर्ण भार आफै बेहोर्नु पर्नेछ। पार्टीका अध्यक्ष र अन्य उच्च पदाधिकारी उसको निम्ति प्रचार गर्न आउँदा उनीहरूको खर्च पनि गर्नुपर्नेछ। उसले सोचेको जस्तो होइन रहेछ। 
चुनाव समयभरि समष्टिमा बस्नुपर्ने देख्यो। एउटा राम्रो ठूलो घर किरायामा खोजेर बस्न थाले। समष्टिको मुख्य कार्यलय पनि त्यही बनायो। 
चुनाव प्रचार अभियान निकै जोडतोडले हुन थालेको थियो। एक बेलुकी एउटा गाउँमा झडप भयो। हल्ला खल्ला निकै भयो। एकदुई जनालाई चोटपटक पनि लाग्यो। यही घटनालाई लिएर उसको चुनाव सहायकहरूले उसलाई बडी गार्ड राख्नुपर्ने जोर गर्नु थाल्यो। चुनावको गरमा गर्मीमा केही पनि हुनसक्छ। डन्ठी, खुकुरी, छुरी, बाम्फोकदेखि कसैले खदुवा बन्दुक र पेस्तोल धरी चलाउन सक्छ। ढुंगा मुडा त सामान्य हो। यस्तो घटना भइरहेकै छ। 
उसको बडी गार्ड भनेर चारजना आए। हेर्दा गुन्डा जस्तै लाग्ने, लुगाफाटा उस्तै लगाको। मन त परेको थिएन तर सुरक्षाको प्रश्न थियो। आफूलाई कसैले हमला गरे उसलाई बचाउन यिनीहरू अघि आउने हो। दिनको दुई हजार दिनुपर्ने। बस्ने खाने खर्च अलग। समष्टि घुम्न हिडेर सकिँदैन। गाडी चाहियो। गाडी आफ्नो लागि मात्र नभएर समर्थकको लश्करको लागि पनि चाहियो। उसले चिनेको सिलगढीको सप्लायरसित सम्पर्क गर्यो। दिनको चार हजार गरेर दसवटा गाडी मगायो। समष्टिभित्र रहेको ट्याक्सी पनि किरायामा लियो। यताको चाहिँ निकै महङ्गो पर्यो। दिनको पाँच हजार दिनुपर्ने भयो। जम्मा जम्मीमा बीसवटा गाडी भयो। 
उसको लश्करमा पहिलो गाडी उसको पाइलट झैँ पार्टीको झन्डा फहराएर अघि अघि हुन्थ्यो। यसमा चडेका युवाहरू लट्ठी, ढुंगा, खुकुरी, बाम्फोक, छुरी सबै बोकेर हिडेका हुन्थे। त्यसपछि उसको गाडी जसमा उसको बडी गार्ड साथ हुन्थ्यो। उसको पछिका गाडीहरूमा समष्टि स्तरीय नेता, समर्थकको हुजुम हुन्थ्यो। "आयो है आयो है" को गर्जन साथ उनीहरू लश्कर लगाएर समष्टिको चक्कर लगाउँथ्यो। यसरी हिडदा ऊ साह्रै खुशी हुन्थ्यो। आफैंलाई सर्वशक्तिमान लाग्थ्यो। ऊ भन्दा ठूलो र शक्तिशाली कोही छैन भन्ने महसुस हुन्थ्यो। 
दिनहुँ एकदुईवटा खसी दर्जनौं कुखुरा केसको केस बियर, रम, लोकल रक्सी देखि भातीजाडले पनि नपुग्ने हुन्थ्यो। 
उसले एक डिजे किरायामा राखेको थियो। बिहानदेखि बेलुका सम्मै बाजा बजिरहने। गीत नबजेको बेला त्यहाँ भाषण हुन्थ्यो। 
उसको जमा पुँजी खिइँदै गएको उसलाई पत्तै भएन। भोट हुन एक हप्ता अघि उसले थाहा पायो ब्यांकको रकम सिद्धिन लागेको रहेछ। पैसाले नपुग्ने भयो। 
यही बेला उसले आफ्नो एउटा बिल्डिङ बेच्ने फैसला गर्यो। गान्तोकको बिलडिङ राखेर पेलिङमा भएको होटल बेच्ने भयो। अरू बेला हो भने तीन चार करोड पाउने हो। तर उसलाई पैसाको फिटिफिटि परेको कम दाममा बेच्न कर लाग्यो। तैपनि डेड करोड त पायो त्यसको मूल्य। 
उसलाई डर हुन थाल्यो यति पैसाले पनि पुग्छ कि पुग्दैन। यसले पनि नपुगे कसो गर्ने। रिटायर भएर पाएको रकम एक अर्कै खातामा राखेको थियो। यसलाई उसले श्रीमतीसित संयुक्त खातामा राखेको हो। उसकी श्रीमतीको चाहना थियो। किन उसले यसरी शंका गरी थाहा छैन तर ढिपी गरेर यसो गर्न लगाएकी थिई। 
धन्न भोट हुने दिन आइपुग्नै लागेको थियो। प्रचार बन्द हुने दिन आयो। त्यही बेला उसको सल्लाहकारहरूले बतायो अब राति राति हिड्नु पर्नेछ पैसा लिएर। मुख्य मुख्य मानिसहरूलाई पैसा दिनुपर्नेछ। 
पहिलो रात उनीहरूले ७० लाख बाडे। दोस्रो र आखिरी रात भने ५० लाख बाडियो। यति बाडी सक्दा उसको हातमा रहेको रकमले बडी गार्डको तलब र गाडीको भाडा पुगनपुग हुने भयो। यद्यपि उसको मनमा सन्तुष्टि थियो जीत उसकै हो। पार्टीले जुन जनसमर्थन पाइरहेको थियो त्यसले छर्लङ्ग बनाएको छ उनीहरूको जीत हुनेछ र सरकार गठन गर्नेछ। मन्त्री भए पछि भएको खर्च भन्दा पाँच गुणा बडी कमाउने हो। यसैले कुनै चिन्ता छैन। सत्ता दलको कतिपय ठाउँमा भएको जनसभामा भीड नभएको खबर जताततै फैलिएको छ। एक ठाउँ त पूर्व मुख्यमन्त्री जनसभाबाट नै जनताले खेदेको भिडियो उसले पनि हेर्यो। भिडियो हेरेर सबै हाँसेका थिए आँशुसरि भएर। त्यो दृश्यले उसलाई यति साह्रो खुशी दिएको थियो उसले दुई बोतल कोन्याक रित्याएको थियो। सबै सहयोगी दललाई पुगिसरी रम रक्सी बियर छेलोखेलो दिएको थियो। त्यही दृश्यले उसलाई आफू भाग्यमानी भएको लागेको हो। त्यतिबेला उसले मनमनै सम्झ्यो ऊ त्यो मिथकीय मिडास जस्तो हो उसले छोएको सबै सुन हुन्छ जुनै काममा हात हाले सफलता नै पाउँछ। ऊ हारेको छैन ऊ कहिले हार्ने होइन। भावीले उसको निधारमा सर्वजीत लेखिदिएकोछ। यसपालि त गुरुजीको भविष्यवाणी पनि छ। मनमनै गुरुजीलाई प्रणाम गर्यो।
भोटको दिन गडबडी भएको थियो। यसले उसलाई अलि अत्तालायो। सत्ता दलको उम्मेदवारले धेरै पैसा बाड्यो रे रातारात। यही कारण दुईवटा ठूलो गाउँहरू पर्लक्क पल्टेको छ भन्ने खवर आएको थियो। उसको सल्लाहकारहरूले त्यो गाउँको मानिसहरूलाई पोलिङ सेन्टरमा आउन नदिन केही जवान तैनाथ गरेका थिए। मारपिट भएको खबर आयो। पछि पुलिस आएर उनीहरूलाई सुरक्षा दिए रे। सुरक्षा दिए तापनि सबै भोट हाल्न नसकेको कुरा सुन्न पाएर उसलाई ढुक्क भयो। 
भोट भइसके पछि बन्द बाकस कडा सुरक्षा निगरानीमा राखिएको थियो। उसले यसमा कुनै धाँधली नहोस भनेर आफ्नो डफ्फा तैनाथ गर्यो। चौबीस घन्टा निगरानीमा राख्नुपर्ने र कुनै बाकस हेरफेर नहोस भन्ने कडा निर्देश दिइएको थियो। 
चारैतिर हल्ला फैलिनु थालेको थियो यसपालि कसले बाजि मार्ने हो अडकल गर्न सकिने छैन। दुवै दल बराबर छ। कसैले भने सत्ता दलले सलिड ल्याउनेछ। कसैले भने यसपालि विपक्षी दलको पलडा भारी छ। मेजिरिटी विपक्षीले नै ल्याउनेछ। सत्ता दल ओपोजिसनमा बस्नेछ। सायद दह्रो ओपोजिसन भएर बस्ला। जनताको निम्ति राम्रो हो। 
भोट गणनाको दिन आयो। ऊ सखारै नुहाएर चोखो भएर पूजापाठ गर्न थाल्यो। सधैं उति पूजा गर्दैन थियो तर आज भने उसलाई मन्दिर नछोडौँ जस्तो भइरहेको थियो। ध्यानमा बस्यो निकै बेर। गुरुजीको स्मरण गर्यो। मनमा पूर्ण आत्मविश्वास थियो जीत उसकै हो भनेर। ऊमात्र नभएर उसको पार्टीले जित्नेछ लागेको हो। तर फेरि मनमा एकतमासको छट्पटी औडाहा पनि भइनैरहेको थियो। 
समयमै गणना केन्द्रमा पुग्यो आफ्नो बडी गार्ड र समर्थकको झुन्डलाई लिएर। 
पटेकाको बन्दोबस्त गरेको थियो। दस हजार रुपियाँ पठाएर सिलगढीबाट पटेका ल्याएको थियो। गणना पछि उसको जीतको घोषणा र चुनाव जितेको चुनाव अधिकारीबाट प्रमाणपत्र लिएर बाहिर निस्के पछि विजय जुलुस निकाल्नको निम्ति हिजो नै पचासवटा गाडी मिलाएको थियो। 
गणनाको प्रथम चरणमा उसले अत्यधिक मत पाएर अघि बडिरहेको देखे पछि खुशीले मुट्ठी देखाएको थियो। उसलाई हलमा हल्ला नगर्न भनेर चेतावनी आएपछि भुक्क फुले एकछिन भए पनि। दोस्रो चरणमा उसको जीतको भिन्नता  कम भयो। यद्यपि मनमा सन्तोष नै थियो अघिल्लो चरणमा उसले उसको जीतको दायरा धेरै बडाएर लानेछ। तर त्यसो भएन। तेस्रो चरणमा उसको प्रतिद्वन्दीसित बराबरीमा आयो। चौथो चरणमा उसले फेरि बडी भोट पाएको देखियो। पाँचौं चरणमा अचम्भ भयो ऊ पहिलोपटक पछाडि हुन पुग्यो। नभन्दै हारको दायरा भने धेरै थिएन। उसलाई लाग्यो छैटौं चरणमा आएर उसले उछिन्नेछ। तर यसो भएन। छैटौं चरणमा ऊ धेरै पछि गर्न गयो। अब भने उसलाई पसिना छुटेको जस्तो भयो। यो त अप्रत्याशित भयो। ऊ हार्नै सक्दैन। हुनसक्छ सातौं चरणमा भिन्नता मेटिनेछ र आठौं चरणमा उसले फेरि उछिनेर जानेछ। तर भयो उल्टो। गणना जति अघि बडदै गयो उसको हार उतिनै बडेर गयो। दशौ चरणमा उसको हार यति धेरै भयो अब उसले जित्ने कुनै सम्भावना रहेन।
उसको हात खुट्टा चल्न नसक्ला जस्तो भयो। बोली लटपटिन थाल्यो । अचानक चारैतिर अन्धकार छाएको जस्तो लाग्यो। उसको मुखबाट गुरुजी गुरुजी शब्द निस्किरहेको थियो तर यो शब्द कसैले सुनेको थिएन। 






Comments

Popular posts from this blog

अगमसिहं गिरी (युद्ध र योद्धा ) आलोचना

             युद्ध र योद्धा : एक पठन                          पेम्पा तामङ      अगमसिहं गिरी भारतीय नेपाली साहित्यमा सर्वाधिक चर्चामा रहेको कवि हो। उनलाई मूलतः स्वछन्दतावादी कवि र जातीय कवि भनेर आलोचकहरूले चिनाएका छन भने कही कही अस्तित्ववादी भनी परिचय दिएको छ। उनका प्रारम्भिक कविताहरू भावनात्मक र करुणामय थिए यसैले उनलाई दुखवादी पनि भनिएको  हो। गिरीका कविताहरू आम चलनको भाषामा लेखिएका र प्रतीक र बिम्वको जडान थोरै रहेका छन। सरल , सहज र बोधगम्य रहेको हुनाले आम पाठकबीच लोकप्रियता बडी रहेको थियो। जीवन , मृत्यु , दुख , बिरह उनका कविताको भावलहरी रहेको छ। कल्पनाको निर्बाध उडान र जीवन परान्मुख रहेको मानिन्छ। जीवनलाई यसरी हेर्ने दृष्टि छायावाद र स्वछन्दतावा भनेर चिनिन्छ। हुनत छायावाद र स्वछन्दतावाद यी बाहेक अन्य पनि हुन। स्वच्छन्दतावादको प्रवर्तक विलियम वर्डस्वर्थको लेखन सिद्धान्त कविताको भाषा आम मानिसको बोलीको शैलीमा हु...

Circle of Karma -Bhutanese novel review

Circle of Karma   Authored by Kunzang Choden, a native of a small village in Bumthang District in  north-central Bhutan, Circle of Karma is the first English novel to emerge from the land of the druk (Bhutan),   the mythical dragon. Published in 2005, the novel instantly courted fame far and wide, and has since been translated into several languages. The novel had been short listed for the prestigious Elle Prix des Lectrices too. Choden was born in the year of the druk , or the year of the dragon, corresponding to 1952 in the Gregorian calendar. Since Choden was born into a prosperous family, her parents sent her to a convent school in Kalimpong when she was nine years of age. Choden recounts the initial difficulty she encountered in the school because, as is prevalent in Bhutan, she did not have a surname attached to her first name. Moreover her father’s name was Kunzang Dorje and the Reverend Mother of her school refused to believe that the father an...

Remika Thapa's Farak Baato

 Two novels of  Puspa Rai                         Pempa Tamang   “Farak Baato”  or “Different Road”  is the title of the critical  book  written by Dr. Remika Thapa. As the title suggests Remika highlights the alternative  point of view proposed by Ms Puspa Rai in her two fictional works namely “Bholiko Pratikshya” or “Waiting for Tomorrow” and “Madhyantar” or “Interval”. Dr. Remika maintains that Bholiko Pratikshya is the first feminist novel in Indian Nepali Language and consequently Puspa Rai has become the first feminist novelist  in Indian Nepali writings.   The two novels can be called duology as the second novel follows the theme of earlier one. The main characters of the fictions are women in both the novels.  The first novel “Bholiko Pratikshya” is about women’s  independence in choice of her existence and her life. It is about the motherhood outsid...