गान्तोक भाइभ:रिज पार्क
सिक्किम भारत विलयको पचासौं वर्षगाँठ मनाउन सरकारले विविध कार्यक्रमहरू आयोजना गरेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी यही कार्यक्रमको निम्ति 29 मईमा आउने तय भए पनि खराब मौसमको कारणले आउन सक्नु भएन।
कार्यक्रमको भेन्युहरूमा रिज पार्क पनि एक रहेको जानकारीमा आयो। रिज पार्कमा समय समयमा विशेष कार्यक्रमहरू आयोजना गर्ने निकै अघिदेखि नै चलनमा थियो। यसको परिसरमा रहेको व्हाइट मेमोरियल हल, फ्लावर फेस्टवल राखिने स्थल र रिज पार्कको सडक गान्तोकको पर्यटकीय आकर्षणमा रहेको छ। रिज पार्क गान्तोक शहरसित ऐतिहासिक रुपमै जोडिएको छ र यही ठाउँको एक छेउ सिक्किमको राजदरबार रहेको हुनाले सिक्किमको इतिहास र राजनीतिमा ठूलो भूमिका रहेको मान्न सकिन्छ। म निश्चित त छुइनँ तर रिज पार्कको डाँडा कै नाममा गान्तोक शहर नामकरण भएको भनाइ छ।
अस्ति (1/6/2025) रिज पार्कमा हुँदै गइरहेको फुड फेस्टिबल अन्तिम दिन हो भन्ने सुनेँ र यहाँ साँझ पख जाने निर्णय लिएँ। रिज पार्क त पुरानो रिज पार्कको आफ्नो चोला फेरेर एकदमै नयाँ रुपमा आएको देख्दा सकिङ्ग नै लाग्यो। मलाई कुनै युरोपेली शहरको स्क्वायरमा रमाउन गएको जस्तै भयो। मेरो देखेको र बुझेको गान्तोक यहाँ गायब भएर एक उत्तराधुनिक चकाचौँध मुलुकमा पुगे जस्तै लाग्यो।पुरै दृश्य सर्रियल लाग्यो। विश्वविख्यात ईटलीको लेखक अम्बर्टो ईकोले लेखेको लामो लेख "ट्राभर्ल्स इन हाइपररियलिटि" सम्झन पुगेँ। रिज पार्कको भौतिक मात्र होइन तर त्यहाँ घुम्न आएका अपार भीड मैले चिनेको गान्तोकवासी नभएर कुनै विकसित मुलुकको पनि सम्भ्रान्त समूहको जमात देखिन्थ्यो। सामान्यत गान्तोक बजार अथवा सिक्किमको कुनै पनि शहर बजारमा सबै वर्गको उपस्थिति देख्न सकिन्छ, उच्च वर्ग, मध्यम वर्ग र निम्न वर्ग जो उनीहरूको शारीरिक गठन, वेशभुषा र चालढालले विशिष्टता छुट्याइएको हुन्छ। मलाई चकित बनाउने कुरा यही नै थियो रिज पार्कमा भएको जमात एक समान देखिन्थ्यो। युवा युवतीहरू ठूलो सङ्ख्यामा, सायद 90 प्रतिशत उनीहरू नै थिए। सबै फेसनेबल। हेर्दै आकर्षक। पारम्परिक खाद्यान्न साथै अन्तर्राष्ट्रिय कुजिन सबै उपलब्ध भएको धेरै स्टलहरू। अनि ती सबै स्टलहरूमा भीड उस्तै उस्तै। ग्राहकको सङ्ख्या अधीक भएको कारण सेवादारहरू अति व्यस्त, हम्मेहम्मे भइरहेको। धेरै आइटमहरू सकिसकेको।
एक ठाउँ लाइभ सङ्गीत कार्यक्रम आयोजन। दर्शक श्रोता स्वादिष्ट फुड आइटमसित सङ्गितको आनन्द लिइरहेको।
परिवेश गान्तोकमय थिएन, कुनै अति विकसित पर्यटकीय स्थल जस्तो।
मलाई आश्चर्य पनि लाग्यो कति परिवर्तन भइसकेछ गान्तोक र सायद सिक्किम। हामी आफ्नो कोकुनभित्र बस्छौं र आफ्नो वरिपरि हुँदै गरेको परिवर्तनसित अपरिचित रहेका हुन्छौं। अनि हाम्रो त्यति अपरिचित दृष्टिले त्यो परिवर्तित संसारलाई मिथ्या बुझ्छौँ। हामीले नचिनिने देखे पछि तथानाम अपशब्द प्रयोग गरेर गाली गर्न थाल्छौँ। हामीलाई आशिर्वाद भन्दा गालीले बडी आकर्षित गर्छ। त्यही गालीलाई यथार्थ मान्छौँ, सत्य मान्छौँ। अनि हामी भ्रमको सिकार हुन्छौं।
हिजोआज फेसबुक युट्युब ज्यादै चलनचल्तीमा आएको छ। स्मार्ट फोनको सहज उपलब्धताको कारण यसको चलन ज्यादै सहज भएको छ। मैले बिताएको फेसबुकको संसारमा भने सिक्किमको अनुहार अत्यन्तै भयानक देखेको छु। फेसबुक र युट्युबको संसारमा सिक्किम एक अत्यन्त गरिब, पानी, बिजुली कुनै उपलब्ध नभएको, भ्रष्टाचार, नशाखोरी, फोहोर र सत्ता निरंकुश रहेको प्रदर्शित हुन्छ। शिक्षा व्यवस्था अस्तव्यस्त भएको, जनता लाचार बस्न परेको, चरम बेरोजगारी र सत्ता जनताको समस्यसित उदासीन भएको बताउँछ। सिक्किमको सडकको बेहाल गाडी कुदन नसक्ने, गाउँ बस्तीमा बाटो बनिन नसकेको, खानेपानीको चरम समस्या, भोकमरी, स्वास्थ्य व्यवस्था बेहाल, सरकारी अधिकारीको मनमानी यस्ता अनेकौं लाँञ्छना लगाएको हुन्छ। तर यस्ता फेसबुक अपडेड र युट्युब भिडियो जो सत्ताबाहिर छन उनीहरूबाट नै बनिएका हुन्छन। यद्यपि सिक्किमे र यी फेसबुक झपडेट र युट्युब हेरेर प्रभावमा आउने दर्शक श्रोताबाट लेखिएका टिप्पणीबाट बुझ्न सकिन्छ उनीहरूले यो राजनीतिक प्रचार मात्र हो नबुझेर सिक्किमको वास्तविकता रहेको बुझ्छन। कम शिक्षित, अर्धधिक्षित, उच्च शिक्षित सबै प्रभावमा आउन थालेका देखिन्छन्। सिक्किममा आफै सरकारी सेवामा तीस वर्ष चालीस वर्ष जीवन बिताएर र सरकारबाट पाउने सबै सुविधा उपभोग गरेर हाल अवकाशको जीवनमा रहनेहरू पनि उत्तेजित भएर नकारात्मक बहसमा आएका देखिन्छन। उनीहरूले बिर्सन्छन जुन कुराको आलोचना टिप्पणीमा भइरहेका हुन्छन वास्तवमा त्यसको जिम्मेवारी उनीहरू आफै हुन भन्ने कुरामा। आफ्नो सेवाकाल भर बिन्दास रहेर कसरी हुन्छ धेर भन्दा धेर सम्पत्ति जोडेर आफू र आफ्ना सन्तानलाई पुग्दो धन थुपार्ने जुन उद्देश्यले उसलाई नियुक्ति दिएको छ त्यसको जिम्मेवारी रत्तिभर ननिभ्याउने तर यही पूर्व सेवकहरू अवकाशको जीवनमा भने आफ्नो गुमेको सत्ताबाट विक्षुब्ध रहेर नकारात्मकता विध्वंसात्मक रुपमा आएको हुन्छ। यिनीहरू खोइरो खन्नेको भीडमा सामेल रहेको हुन्छ। यिनीहरूले पढेको भनेको आफ्नो कलेज परीक्षा दिँदा पढेपछि जीवनभर कुनै पुस्तक उघारेर पनि हेरेका हुँदैनन्। तर उनीहरू नै दावी गर्दछन उनीहरू जतिको ज्ञानी अनुभवी अरु कोही हुन सक्दैन।
सिक्किममा आफ्नो आफू जन्मेको हुर्केको ठाउँ समयसितै स्मृतिको गर्भमा लुक्न पुग्छ र यसको इतिहास मेटिन गएको धेरै दृष्टान्त देखिन सकिन्छ। आफ्नो जन्मस्थलबारे परिचयात्मक लेखौट विरलैले गरेका छन। कुनैकुनै लेखक कविले लेखिहाले पनि भ्रामक सूचना र गलत इतिहास राखेर पाठकलाई नै भ्रमित बनाएको उदाहरण देखिन सकिन्छ।
सिक्किमको प्रमुख शहर गान्तोक हो र छोग्याल थुटोब नामग्यालले राजधानी तुमलोङबाट गान्तोकमा 1880को दशकमा सारेपछि यसको विकास हुन थालेको हो।
सिक्किममा लेखकहरू उल्लेखनीय सङ्ख्यामा रहे पनि गान्तोक शहरबारे लेखिएको धेरै सामग्री पाइँदैन। मैले पढेको गान्तोकको सबैभन्दा पुरानो विवरण जे सी व्हाइटको लेखनमा हो। यसमा उनले आफ्नो वासस्थान र कार्यलय निर्माण गरेको बताएको छ। हाल रिज पार्क परिसरमा रहेको व्हाइट मेमोरियल हल उनकै नाममा हो।
1960 को समयको गान्तोकबारे मन्दीप लामाले सुन्दर चित्रण गरेका छन। उनको अङ्ग्रेजीमा लेखिएको यो लेखमा त्यो समयको गान्तोकको समाज चिनिन सकिन्छ।
गान्तोक शहरमा पहिला धेरै रुखपातहरू थिए। बडदो शहरीकरणको परिणामले ती धेरै रुखपातहरू नष्ट भए। गान्तोकमा शहरभित्र रहेका यही विविध थरीका वृक्षादिको सम्पूर्ण विवरण र यसको सौन्दर्यबारे पूर्व मुख्य सचिव के सी प्रधानले अत्यन्तै विश्वसनीय जानकारी उनको आत्मकथाको पुस्तकमा राखेको पाइन्छ। माथि भनिसकेको छ उनले उल्लेख गरेका ती वृक्षहरू अब धेरै जसो देखिँदैन, सबै नाश भइसकेका छन।
सिर्जनात्मक लेखनमा गान्तोकको 1970 र 1980 को दशक देखिन सकिने कथाकार देवकुमारी जुमेलीका कथाहरूमा पाइन्छन्। उनी एक उत्कृष्ट कथाकार थिए। 1970-80 को दशकमा गान्तोकको युवा समाजको सुन्दर चित्रण ती कथाहरूमा देखिन सकिन्छ।
मैले तीनवटा कथा गान्तोकलाई केन्द्र गरी लेखेको थिएँ। यहाँ मैले स्वीकार्नु पर्नेछ ती कथाहरू सिक्किमेली युवा समूहमा देखिने विकृति नै चित्रण गरेको थिएँ। एकप्रकारले सिक्किमको नकारात्मक चित्रण। त्यसकालमा मलाई आदर्शवादले धेरै आकर्षित गरेको हुनाले नै मैले त्यस्तो चित्रण राखेको हुँ। अहिले आएर बुझ्दा आदर्शवाद आफै खोक्रो हुँदोरहेछ। आदर्शवादको बुनियाद नै वास्तविकताको धरातलमा नहुँदोरहेछ।
सिक्किमको नकारात्मक चित्रण गरेर लेखिएको लेख एक हिन्दी भाषा 1990 मा देखिन आएको थियो। त्यस समयमा सिक्किमप्रति त्यतिको घोर निराशाजनक लेखन सायद त्यो भन्दा अघि पनि भएको थिएन र त्यसको पछि पनि भएको पढन पाइएको छैन। उक्त लेख पढदा लागेको थियो सिक्किमको कुनै भविष्य छैन।
हिजोआज फेसबुक युट्युबमा सिक्किमबारे जस्तो नकारात्मकता फैलाएको देखिन्छ माथि जनाइएको लेखसित मेल खान्छ। फरक यति छ लेखले सम्पूर्ण सिक्किमेली समूह समेटेको थियो भने आजका नकारात्मक टिप्पणी विपक्षीको सत्ताप्रति निराशा र भग्नाशा हो। सत्तामा रहने सबै अत्याचारी भ्रष्टाचारी र अलोकतान्त्रिक । विरोधी पक्ष भने सबै प्रजातन्त्र प्रेमी, सिक्किमको सबै समस्याको समाधानको चाबी रहेको। सत्ताको हकदार उनीहरू मात्र। ब्यांकबाट करोडौंको ऋण लिने तर जब ऋण चुक्तिको समय आउँछ उसलाई अत्याचार हुन थालेको महसुस गर्ने प्रवृत्ति सिक्किममा रहेको छ। उसले आफूलाई भुक्तभोगी घोषणा गर्छ र यसको विकल्प विरोध खोज्दछ।
यथार्थमा सिक्किममा आमूल परिवर्तन आएको देख्न सकिन्छ। सिक्किम अब 1980-90 वा 2000-2010 को सिक्किम रहेन। आर्थिकसामाजिक दुवै मामिलामा धेरै अघि बडेको छ। प्राथमिकदेखि विश्वविद्यालयसम्म शिक्षाको सहज उपलब्धता, स्वास्थ्य सेवामा गुणस्तर वृद्धि, फस्टाएको पर्यटन व्यवसाय। सिक्किम रैथानेले राष्ट्रिय एवम अन्तर्राष्ट्रिय स्तरमा विभिन्न तहमा आफ्नो प्रतिभा प्रदर्शन गर्न सक्षम देखिएको छ। सिक्किममा जन्मिएको रक व्याण्ड "गिरिस एन्ड द क्रनिकल" अमेरिकाको अमेरिका गट टेलेन्टको मञ्चमा आफ्नो प्रस्तुति दिन सफल भएको छ। सिक्किमको रचना बुक्स पुस्तक बिक्रीवितरण र प्रकाशनमा राष्ट्रिय स्तरमै प्रसिद्धि कमाएको छ। 1980 को दशकसम्म सिक्किमको भानुजयन्ती सम्पूर्ण नेपाली समाजमा सबैभन्दा ठूलो आयोजना रहेको मानक नै थियो।
सिक्किमले पचास वर्षमा जुन गतिले अघि बड्यो रिज पार्कमा भएको प्रदर्शनीले प्रतिबिम्बित गरेको हो।
Comments
Post a Comment