Skip to main content

पालाम भाका

नेपाली साहित्यले स्थूल रुपमा दुई परम्परा अनुसरण गर्छ वैदिक पौराणिक परम्परा र जनजाति मौलिक ज्ञान परम्परा। पहिलो परम्परा नेपाली साहित्यको मूलधार हो। सर्वाधिक साहित्य सिजना यही परम्परामा रहेको छ। जनजाति मौलिक ज्ञान परम्परा भने पछिबाट प्रवेश भएको हो। यो नयाँ  परम्परा अघि लगाएर  अलग बाटो बनाएर नेपाली साहित्यको नयाँ गोरेटो बनाउने श्रेय कवि वैरागी काइँलालाई जान्छ। पहिलो परम्परालाई शासकले निर्माण गरेको परम्परा भन्न सकिन्छ भने दोस्रो परम्परा शासितद्वारा निर्मित। हामी उपनिवेशक र उपनिवेशितको बिम्व प्रयोग गर्न सक्छौं। भारतमा सवर्ण र अवर्ण बिच विभेद छ। यद्यपि कतिपय अवर्णहरू आफू सवर्णको पक्षमा हुन चाहने अनवरत प्रयासमा रहने देखिन्छ। यही दोस्रो प्रवृत्तिका समूहलाई आफू कुल र जन्मले वैदिक पौराणिक परम्पराको नभए पनि यसलाई शिरोपर राखेर अघि बडने समूहलाई वैदिक पौराणिक परम्पराको मान्न सकिन्छ। नेपाली साहित्यमा पनि यही प्रवृत्ति प्रबल थियो। कवि वैरागी काइँला नै त्य्तो पहिलो सशक्त कवि हुन जसले आफूलाई यसबाट अलग राख्न सफल भए। 
समकालीन समयमा यी दुवै परम्पराको विभाजन स्पष्ट देखिन थालेको छ। पछिल्लो समयमा वैरागी काइँलाका दृष्टिकोण पहिचान गरेर नयाँ नयाँ गोरेटो निर्माण भइसकेको  छ। यसले नेपाली साहित्यमा आफ्नो दर्हो उपस्थिति दर्ता गरिसकेको छ। नभन्दै यी दुवै परम्परामा आफ्नो उपस्थिति बराबर राख्न चाहने समूह पनि निर्माण हुन थालेको छ। उनीहरूको अडान स्पष्ट नराखेर सम्झौतापरक रहन गएको बुझिन्छ। एक अर्को प्रवृत्ति पनि रहेको छ जसले यी दुवै परम्परालाई सम्मान गर्छ र दुई परम्पराको सङ्गम गराउन चाहन्छ जसले गर्दा यी दुई बीचको भिन्नताको कटुता मेटियोस र सामाजिक सौहार्दता कायम रहोस। एक नयाँ संगम संस्कृति लेखनको विकास होस।  यस धारका अग्रपक्तिंमा रहेको छ कवि मनप्रसाद सुब्बा। यही सिद्धान्तलाई घनीभूत गरेको छ उनको नवीनतम कविता सङ्कलन "पञ्चतत्वको  पालाम"ले। पञ्चतत्व वैदिक पौराणिक ज्ञानबाट आउने पद हो भने पालाम मुन्धुमी गीत हो।  "पञ्चतत्वको पालाम" एक वैदिक पौराणिक चेतना र लोक परम्पराको सङ्गम भएको छ। यद्यपि कविले यी दुवै परम्परालाई वैज्ञानिक आलोकमा राख्न चाहेको पनि बुझिन्छ।  कविता पठन हुनत विरेचन, आत्मसन्तुष्टि, आनन्द र रोमाञ्चकताको निम्ति नै हुन्छ तर यदि कवि एक विवेकशील तर्कवादी र चेतनशील रहेको छ भने उसको कविता पाठकको निम्ति ज्ञानको उदवोधन र पाठकलाई चेतनशील बनाउन धेरै सहयोग गर्छ। "पञ्चतत्वको पालाम" यस भूमिकामा पूर्णत सफल छ। कविता वास्तवमा एक रहस्य पनि हो। यसो हुनुको कारण कविताको आफ्नै मुलुक हुनु हो। कवितालाई बुझ्न कविताको प्रदेशमा भ्रमण गर्न इच्छुक हुनुपर्दछ।   "पञ्चतत्वको पालाम" मा प्रस्तुत गरिएका विचार सर्वग्राही नहुन सक्छ। तर कविताको तिर्खा भने मेटाउन क्षमता प्रशस्तै राखेको छ। 
कवि मनप्रसाद सुब्बा नेपाली साहित्यको एक त्यस्ता विरल कोटिका सर्जक हुन जसले आफ्नो प्रत्येक नयाँ कृति नितान्त नयाँ अवतारमा राख्दछ। उनको पूर्वकृतिको अवशेष नयाँ कृतिमा देखिन्न। "पञ्चतत्वको पालाम" मा पनि उनले आफ्नो परम्परा  कायम राखेका छन। पञ्चतत्व शब्द एक रुढ भइसकेको शब्द हो। तर पालाम शब्द पञ्चतत्वसित जोडिएर  आए पछि यसले नयाँ रुप फेरेको लाग्छ। पञ्चतत्व शब्दले नयाँ अर्थ र रुप पाएको छ। 
"पञ्चतत्वको पालाम" कविता सङ्ग्रहको बुनोट यसको मुख्य आकर्षण हो। प्रत्येक तत्वले कविताको लश्कर लिएर आएको छ। "आकाश" र "हावा" प्रत्येकमा ९ कविताहरू छन। तेस्रो तत्व अग्नि हो जसलाई कविले "महाज्योति" "उज्यालो" "सूर्य" भनेका छन र यसमा ११ कविताहरू छन। चौथो जल र पाँचौं पृथिवीमा दुवैमा १२ कविताहरू राखिएका छन। कविताको सङ्ख्याले जल र पृथिवीप्रति बडी आकर्षित देखिन्छ यही कारण। "पञ्चतत्वको पालाम" कविता सङ्ग्रहको संरचनाले उनको अघिल्लो कविता सङ्ग्रह "ऋतु क्यानभसमा रेखाहरू" (२००१) सम्झना गराउँछ। "ऋतु ….." ऋतुहरूमाथि लेखिए तापनि विशुद्ध ऋतुको कविता नभएर ऋतुबाट उत्प्रेरित कविताहरू थिए। "पञ्चतत्वको पालाम" का कविताहरू पनि  पाँच तत्वका कविताहरू नभएर यसबाट अभिप्रेरित कविताहरू हुन। तत्वलाई अघि लगाएर लोक ज्ञान, परम्परा, विज्ञान, प्रकृति, पर्यावरण विविध विषय अघि लाएका छन। हाम्रो सभ्यता हाम्रो परिवेश सबै समेटिएका छन। स्थानिक र वैश्विक दुवै कविताले छोएको छ। 
कुनै पुस्ताकार कृति प्रकाशनमा ल्याउँदा मंगलाचरणको परम्परा नेपाली साहित्यमा थियो। अझै पनि कतिपय नेपाली सर्जकले यो परम्परा कायम राखेको देखिन्छ। कवि सुब्बाको भने यसप्रकारको मंगलाचरण राखिएको देखिन्न। "पञ्चतत्वको पालाम" मा पनि रहेको छैन। तर यहाँ पहिलो कविता सृष्टिबारे छ। हिन्दू धर्म सिद्धान्त अनुसार ब्रम्हले सृष्टि गर्दा पहिला आकाशको सिर्जना गरे। आकाशपछि वायु र वायु पछि अग्निको सिर्जना गरे। अग्नि पछि जल र अन्तमा पृथिवीको सिर्जना गरे। सङ्ग्रहमा कविताको क्रम यही अनुरुप राखिएको छ।  आकाश श्रङ्खलाको पहिलो कविता जो पुस्तक कै पहिलो कविता पनि हो माथि भने झैँ सृष्टिको कथा हो।   सृष्टिको कथा भए पनि यसलाई मानवीकरन गरिएको छ। एक वयस्क मानवको शरीरमा २०६ किसिमको हड्डी हुन्छ। 
" समयको यौटा प्राचीन कुइनेटोमा
मेरा जिजुबाजेका जिजुबाजेले
आफ्नो ज्यानको २०६ वटै हड्डी जोडजाड पारी
यौटा अनौठो तान बनाए
र उपहार दिए मेरी जिजुबोजूकी जिजुबिज्यूलाई 
त्यही तानमा ती प्राचीन जिजुबोज्यूले 
बुनिन नीलो आकाश "
(तानमा बुनेको आकाश)
"ज्यानको २०६ वटै हड्डी" पञ्चतत्वले बनिएको हुन्छ। संसार पनि पञ्चतत्वले नै बनिएको हुन्छ। पञ्चतत्व प्रकृति हो। तर यहाँ "मेरा जिजुबाजेका जिजुबाजे" भने कविले सृष्टिलाई मानविकरन गरिएको बुझिन्छ। वैदिक पौराणिक धारणा अनुसार बुझ्नु हो भने प्रकृति ब्रम्हाको सृष्टि हो।  प्रकृति वा सृष्टिलाई अलौकिक सिर्जनाबाट भौतिक सिर्जनामा परिवर्तन गरिएको छ।  प्रकृतिको सौन्दर्य कविले एक सिर्जना मानेको छ। एक सुन्दर कलाकृतिले रित्तो पर्खालमा ज्यान भरिदिए झैँ प्रकृतिको सौन्दर्यले सर्वत्र मनोरम बनाएको सुन्दर चित्रण कवितामा आएको छ।
"मुटुको ढुकढुकीको लयमा तान चलाएर बुनेको त्यो मिहिन नीलो आकाशलाई
उचालेर ती पुर्खाहरूले माथि टाँगिदिए
घरको छानामाथि डाँडामाथि हिमालमाथि
अनि अघिको त्यो अँध्यारो शून्य भ्वाङ
नीलो आकाशले भरिएर सुहायो
पहाड पर्वत सुहायो
तराई फाँट सुहायो। "
श्रङ्खलाको दोस्रो कविता "मेरो आकाश" आत्मानुभूति छ। कवि आकाशलाई सदा आफूसँगै रहेको कल्पना गर्छन।
"यो आकाश
मेरो आँखाभनदा टाढा कहिल्यै गएन। "
कवि आफ्नो बडदो उमेरसँगसँगै आकाशको अनुभूतिप्रति भएको  परिवर्तन एवम यसको विशालता आकलन गर्दछ। 
कविताको अन्तिम छन्दले उपभोक्ता संस्कृतिले निम्त्याएको त्रासदी बयान गर्छ 
" तर तिमी त
मेरो यो आकाशलाई टुक्रा टुक्रा च्यातेर 
तिम्रो डिपार्टमेन्टमेन्टल स्टोरको सौदा पोको पार्ने 
थैलाहरू पो बनाउन खोजिराखेका छौ त। "
तेस्रो कविता "शहरमा आकाश" अब गाउँ र पारम्परिक परिवेशबाट निस्केर शहरीय परिवेशको चित्रण देखिन सकिनेछ। कवितामा गाउँको चित्रण नरहे पनि  शहरको चित्रण र पात्रको भोगाइले गाउँमा त्यस्तो नरहेको अर्थ लगाउन सकिन्छ। 
"एक साँझ सपनाको रात्रि बसमा चडेर
शहर पसेको त्यो आकाश 
बिहान हुँदा नहुँदै क्षत विक्षत भयो।"
गाउँमा जीवन बिताइरहेको पात्रले शहर एक सपना जस्तै सुन्दर सम्झन्छ गाउँ र त्यही सपना लिएर शहर पसेको हुन्छ। कवितामा गाउँको चित्रण छैन र पाठकले गाउँको शान्त, निष्कलङ्क, स्वच्छ, सौहार्दमय परिवेश भनेर बुझ्नु पर्ने हुन्छ। जब ऊ शहर जाँदैछ भने उसले गाउँ भन्दा शहर अझ सुन्दर रहने सपना देखेको हुन्छ। तर उसको सपना जस्तो हुँदैन शहर "बिहान हुँदा नहुँदै क्षत विक्षत" हुन्छ।  गाउँवासी एकार्काको भिन्नता मेटाएर मित्रता र सौहार्दतामा रहेको हुन्छ र उसले गाउँ जस्तै शहरवासी पनि होला भन्ने बुझेको हुन्छ। तर उसले देख्छ शहर त्यस्तो छैन। शहरीमा उसको भोगाइ भयावह हुन्छ
"सर्वसमावेशी मुन्धुम गाउँदै शहर पसेको ऊ
दिनरात बहुलिङ्गी बलात्कार भोग्दा भोग्दा
मगर खुस्केको भएर डुलिहिडदछ चिथ्रा पहिरनमा"
"पञ्चतत्वको पालाम" को स्वरलहरी प्रकृति प्रेम हो। प्रकृति प्रेमले पर्यावरण चिन्ता पनि बुझाउँछ समकालीन समयमा। पर्यावरण प्रदुषण विकृति शहरीकरण एक कारण हुन गएको छ। पर्यावरण विनाशमा शहर,  औधोगिककरण,  अनियमित एवम अनियन्त्रित पूर्वाधार निर्माण कार्य हुने गर्दछ। गाउँबस्ती पर्यावरणको निम्ति हानिकारक हुँदैन। कविता प्रकृति समर्थित रहेको हुनाले शहरको आलोचना तार्किक रहेको छ। 
कवितामा प्रकृति प्रतिको निर्वाध प्रेम स्वछन्दताभित्र आउने प्रवृत्ति हो। 
शहर र गाउँको बिम्व तर सभ्यता र असभ्यताको निम्ति पनि प्रयोग गरिन्छ। मानव समाजको निम्ति शहर सुलभ हुन्छ। गाउँ भनेपछि आधुनिक सुख सुविधाको अभाव भएको भन्ने अर्थमा लिइन्छ। 

गाउँमा रहन गएको भौतिक असुविधा र पूर्वाधारको अपर्याप्त साधन जस्ता कुराले मानव क्षमता विकास गर्न अवरोधक बन्दछ। यही कारण  गाउँलाई  असभ्यताको प्रतीकको रुपमा लिइने  गरिन्छ भने शहर सभ्यताको। भारतीय  ग्रामीण समाजमा रहेको कमी कमजोरीलाई औल्याउँदै भीम राव अम्बेडकरले भनेका छन What is a village but a sink of localism, den of ignorance and narrow mindedness, communalism. (गाउँ भनेको स्थानीयवादको कुण्ड हो, अज्ञानता, सङ्कीर्णता र साम्प्रदायिकताको अड्डा हो।) कार्ल मार्क्सले पनि गाउँको यसरी नै आलोचना गरेको देखिन्छ। (Village) had always been the solid foundation of Oriental despotism, that they restrained the human mind within the smallest possible compass, making it the unresisting tool of superstition, enslaving it beneath traditional rules, depriving it of all grandeur and historical energies. (गाउँ) सधैं पूर्वीय निरंकुशताको बलियो आधार रहँदै आएको छ, जसले मानव मनलाई सम्भव भएसम्म सानो सीमामा सीमित गरेको छ, यसले अन्धविश्वासको अप्रतिरोधी हतियार बनाएको छ, परम्परागत नियमहरू अन्तर्गत दासमा परिणत गरेको छ, यसले सबै भव्यता र ऐतिहासिक ऊर्जाबाट वञ्चित गरेको छ।)
अम्बेडकर र कार्लमार्क्स विचारलाई पुष्टि गर्ने सिर्जनात्मक लेखनमा देखिन सकिन्छ। फणीन्द्रनाथ रेणको उपन्यास "मैला आँचल" ले बिहारको पूर्णियाको एक गाउँको चित्रण छ। उपन्यासमा गाउँले समाजमा रहेको निरक्षरता, अन्धविश्वास, कुरीति, सङ्कीर्णता सबै पाइन सकिन्छ। मूल अङ्ग्रेजीमा लेखिएर हिन्दी अनुवादमा २०२४मा प्रकाशित उपन्यास "लाइनपार"मा पश्चिमी उत्तरप्रदेशको एक गाउँको चित्रण छ। यसमा पनि गाउँको अवस्था कहालीलाग्दो लाग्दो देखाइएको छ। उग्र जातिवाद, वर्गीयता, भोक, रोग, ठूलाठालुको थिचोमिचो सबै खुलेर आएको छ। यी दुवै उपन्यासले गाउँ र गाउँले समाज अन्धविश्वास, धार्मिक उत्पीडन, साम्प्रदायिकताले भरिएको देखाएका छन। नभन्दै नेपाली सिर्जनात्मक लेखनमा भने ग्रामीण समाजको यही प्रकारको चित्रण रहेको कुनै कृति पढ्न पाएको मेरो निजी अनुभव छैन। 
आकाश श्रंखलाको दोस्रो कविता "ओ आकाश" भने प्रकृति र मान्छेको द्वैतता झल्काउने छ। मान्छे र प्रकृतिको विभाजन यहाँ देखिन्छ। कविताले एन्थ्रोपोसिन युगको प्रतिनिधित्व गर्छ। यो युग भनेको मान्छेले प्रकृतिमाथि विजय हासिल गरेको युग भनेर भनिन्छ। मान्छेले प्रकृतिमाथि विजय गरेको युगलाई एन्थ्रोपोसिन एज वा युग भनिएको छ। मान्छेले प्रकृतिमाथि जीत हासिल गरे भन्नू नै एकप्रकारले प्रकृतिको विनाश हो। प्रकृतिमाथि मान्छेले गरेको धलिमलि कविताले देखाएको छ।  कविताले पर्यावरण चिन्ता बोकेको छ र पर्या कविताको घेरामा हेर्न सकिन्छ। 
कवि आकाशलाई सम्बोधन गर्दै दुई हात जोडेर सम्मान जनाउँछ
"ओ आकाश 
आसेवारो।"
कवि भन्छ आकाश वास्तवमा टाढा छैन उनकै छेउछाउ छ र सँगै छ। आकाशले तिक्तता पनि बुझाउँछ तर यही रिक्ततामा सबै सिर्जनाको स्रोत हुन्छ । 
"तिम्रो खालीपनको गर्भबाटै जन्मिन्छन
हाम्रो विद्रोह, निर्माण र सिर्जनाहरू।"
कविलाई लाग्छ आकाशको उपस्थिति निरपेक्ष छैन, सापेक्ष छ। 
"त्यसै र तिम्रो निरपेक्षता कहिल्यै निरपेक्ष छैन
त्यो त सँधै सापेक्ष छ हाम्रो हुनुसित"
कविताले आइन्सटाइनको सापेक्ष सिद्धान्त बोलेको बुझिन सकिन्छ। 
लेखको सिरानमै भनिएको छ नेपाली लेखनको मूख्य धारा वैदिक पौराणिक सङ्कथन रहेको छ भनेर। पछिल्ला लेखनमा लोक परम्परा र पहिचानवादी धारा आएपछि भने स्थानीय ज्ञानमिमांसाले स्थान पाउन थालेको थियो। यद्यपि यी दुवै धारा आधुनिक विज्ञानको आधारमा राखिएका नभएर पारम्परिक विश्वासमा हुन्छन। कवि मनप्रसाद सुब्बाले आफ्नो काव्य चिन्तन यहीबाट अलग गरेर एक वैज्ञानिक सङ्कथन निर्माण गर्न लागेको देखिन्छ। उनले यसो गर्न पारम्परिक विश्वासलाई नकारेको भने छैन तर परम्परा र आधुनिकताको समन्वय गरेका छन। 
"तिमीसँग तिम्रै सियामिज जम्ले छ समय
त्यो महाविस्फोटको योनीबाट एक साथ जन्मेको "
पूर्वीय होस वा पाश्चात्य दुवै धारणा अनुसार देश (आकाश, दिक) र समय (काल) स्वतन्त्र मानिन्थ्यो। दुवै अलग अलग भएको बुझिन्थ्यो। तर पहिलोपटक वैज्ञानिक आइन्स्टाइनले सिद्धान्त ल्याए यी दुई स्वतन्त्र नभएर एकार्काको प्रभावमा रहन्छ। देश (आकाश) छैन भने समय (काल) पनि हुँदैन। वैज्ञानिक भन्छन आकाश र समय (देश र काल) महाविस्फोट (बिग ब्याङ्ग) सितै जन्मेको हो। यसको अघि न त समय थियो न आकाश। "पञ्चतत्वको पालाम" हिन्दू दर्शनबाट प्रभावित जस्तो देखिन्छ। प्रकृतिको उद्भव माथि दिएको बिग ब्याङ्ग सिद्धान्तको तुलनामा हिन्दू धर्म दर्शनको सृष्टि सिद्धान्त यहाँ राख्न सान्दर्भिक लाग्छ। 
"बीजस्यान्तरिवाङ्कुरो जगदिदं प्राड्निर्विकल्पं पुन:
मायाकल्पितदेशकालकलनावैचित्र्यचित्रीकृतम्।
मायावीव विजृम्भयत्यपि महायोगीय य: स्वेच्छया
तस्मै श्री गुरुमूर्तये नम इदं श्रीदक्षिणामूर्तये।"
(शंकराचार्यकृत दक्षिणामूर्तिस्तोत्र)
"मायाकल्पितदेशकाल" भनेको देश वा काल ( आकाश र समय) दुवै मायाबाट सृजना भएको हो। देश र काल दुवै माया मात्र हो र सत्य होइन। "बीजस्यान्तरिवाङकुरो जगदिदं" अर्थात बीजमा अङ्कुर पहिल्यैदेखि विद्यमान भएको जस्तो यो संसारमा भएका सबै चर अचर ईश्वरको चेतनाभित्र अनन्त कालदेखि नै विद्यमान हुन्छ। 
यो श्लोकले बताएको छ संसार एक माया मात्र हो। यद्यपि संसार भगवानको एकाकारको रुपमा रहेको हुन्छ। यसैको प्रकट रुप दृश्यमान हुन्छ। 
माथि राखिएका दुई भिन्न दृष्टिकोणबाट "पञ्चतत्वको पालाम" कविताको मुख्य आधार बुझ्न सकिनेछ। 

पृथिवीमा मानवजातिको उपस्थिति र इतिहास विज्ञानको मत धार्मिक एवम पारम्परिक अवधारणासित मेल खाँदैन। विज्ञानले उद्विकासको सिद्धान्त मान्दछ र मानव जाति पृथिवीका अन्य जीव जीवाणुबाट विकास भएको हो भन्छ। वर्तमान मानव प्रजातिलाई होमो सेपियन भनिन्छ। होमो सेपियनको उदय अघि मानव जस्तै नियन्डर्थल प्रजातिका मानव समूह थियो।  तर अहिले छैन। वैज्ञानिकहरू भन्छन ३० हजार वर्ष अघि लुप्त भए। नियन्डर्थल लुप्त हुनुको ठोस कारण पता नलागे पनि होमो सेपियन अर्थात आधुनिक मानवजाति नै जिम्मेवार हुन सक्ने बताउँछन्। 
कवितामा आएको मानव जातिको यस इतिहासले मानव श्रेष्ठता मानवको ईस्वरीय चेतना जस्ता धार्मिक अवधारणामा सिधै प्रहार हुन्छ। कविता वैज्ञानिक मुखी रहनु गएको प्रमाणित हुन्छ। 
"तिमीहरू छौ साक्षी आदिकालदेखि यो धरतीमा
होमोसेपियन्जले नियनडरथललाई मासेदेखि यता
अरू के के मासिसक्यो र मासिरहेछ"

धार्मिक लेखन एवम प्राचीन सिर्जनात्मक रचनामा कुनै चेतावनी वा शुभसन्देश पात्रलाई अदृश्य शक्तिले दिने गरेको धेरै पढन पाइन्छ। यस्ता सन्देश आकाशबाट हुने हुनाले यसलाई आकाशवाणी भनिन्थ्यो। "आकाशको नीलो आख्यान" कवितामा यही तकनिक प्रयोग गरिएको छ। 
अघिल्ला कविताहरूमा आकाशलाई प्रतिनिधित्व गरिन्थ्यो भने यहाँ आकाश स्वयं अघि आएको देखिन्छ। 
आकाशलाई प्रतिवेदन गर्न लगाएको छ। प्रतिवेदनमा आकाशले मावन जातिको हर्कतबाट असन्तुष्ट भएको बुझाएको छ। 
"त्यो अज्ञात परम सत्ताले पनि अचेल 
आकाशवाणी गर्न छोडेर 
वाणी हराएको मूक आकाश म"

" …अन्त्यहीन कोलाहलको कुहिरो ओढेका तिनीहरूले 
नब्बे डेसिबल आवाजका क्रूर बाजहरू उडाइरहन्छन
उडाइरहन्छन उडाइरहन्छन बेरोकटोक
र ती बाजहरूले स्टिलको नङ्ग्रा र स्टिलको चुच्चाले 
मेरो नीलो कान नीलो टाउको लुछिरहन्छन एकोहोरो "
ध्वनि एवम वायु प्रदुषण हुन थालेको बुझाएको छ माथिका पंक्तिहरूले। 
कवि सम्वेदनशील बन्दछ आकाशमा भएको अतिक्रमणबाट। हुनत आकाश आकार मुक्त छ तर उसले पाएको मुक्ततामा मोक्षप्राप्ति छैन। कवि आकाशलाई मानवीकरन गर्छ यहाँ। एक मान्छेको पीडा आरोपित गर्छ आकाशलाई। 
यद्यपि कवि सचेत छ आकाश त स्वयं प्रकृति हो। आकाशले मोक्ष पाउनु भनेको प्रकृतिको मृत्यु हो। यसैले कवि लेख्छन् 
" मैले मोक्ष पाएको दिन 
सृष्टि कै पो अन्त्य होला नि।"
मोक्ष शब्द हिन्दू धर्ममा एक पवित्र धार्मिक शब्द हो। मोक्ष प्राप्ति गर्नु भनेको ईश्वरत्व प्राप्ति गर्नु हो। कविले यहाँ आकाशको मोक्ष प्राप्ति सृष्टिको अन्त्य भनेका छन। कवि आकाशलाई मोक्ष प्राप्ति गराउन चाहँदैन। मोक्षको आसक्ति नरहेको देखिन्छ। 
पर्याचेतना
पञ्चतत्व प्रकृति हो र पञ्चतत्वको कवितामा पर्यावरण चिन्तन सहज यात्रा हुन्छ। कवि कविता र प्रकृतिको त्रिकोणी सम्बन्ध  वास्तवमा प्राचीन कालदेखि नै छ। पूर्वीय या पाश्चात्य दुवैतिरका सिर्जनात्मक लेखनमा प्रकृति प्रमुखताको साथ आएका छन। संस्कृत लेखनमा वेद पुराण महाकाव्य प्रकृतिले पूर्ण सम्मान पाएको छ। तर वीशौँ शताब्दीको उत्तरार्ध पछि भने समय बदलिएर आयो। प्रकृतिप्रेमी मान्छे प्रकृतिको दुश्मन नै भएर आएको देखियो। मान्छेबाट नै प्रकृति विनाश हुन लागेको देखिन थालियो। हुनत प्रकृतिको विनाश भनेको मानवजातिको पनि विनाश हो। प्रकृति विनाश आत्मघाती कार्य हो। 
प्रकृतिको संरक्षण एक आपदकालीन अभियानको रुपमा लिन पर्ने बुझ्ने व्यक्ति वा समूहलाई पर्यावरणवादी भनिन्छ। प्रकृति भनेको बन जङ्गल खोलानाला हिमाल मात्र नभएर चराचुरुङ्गी, साना ठूला जीव जन्तु सबै हुन। आजको समस्या भनेको यही सबैलाई  मानवजातिले गरिरहेका प्रहारबाट कसरी जोगाउने ? कविता वा साहित्यको यसमा कस्तो भूमिका हुन सक्छ अथवा पर्यावरणको दृष्टिकोणमा कविता कसरी बुझिने ? मानव समाज वास्तवमा प्रकृतिमा निर्भर रहन्छ र ऊ परजीवी प्राणी हो। मान्छे उद्भिद जस्तो आत्मनिर्भर छैन। मान्छेको जीवन प्राकृतिक संसाधनमा पूर्णतय आश्रित हुन्छ। प्राकृतिक संसाधनको अभावमा उसको जीवन रहन सक्दैन। विडम्बना यहाँ आएर हुन्छ। सस्टेनेबिलिटिको प्रश्न यो मुद्दामा अल्झिन्छ। प्रकृतिको न्युनतम उपभोग गरेर मान्छे आफ्नो जीवन धान्ने कार्य नै पर्यावरण मैत्री वा सस्टनेबल विकास हुन्छ। प्रकृति र मान्छे दुवै सुरक्षित रहन्छ। प्रकृति सुरक्षित रहे मानव पनि सुरक्षित रहनेछ ।यद्यपि मानव समाजको भौतिक विकासको निम्ति प्राकृतिक संसाधनको उपभोग अनिवार्य हुन्छ। यही कारण पर्यावरण सुरक्षाको प्रश्न पश्वगामी कदम भनी आरोप लगाइन्छ। तर मानव जीवनको सुरक्षा भन्दा भौतिक विकास अवश्यै महत्त्वपूर्ण होइन किनकि विकास मानव जीवन सुरक्षाको लाहि हो मानव जीवन विकासको लागि होइन। 
पर्यावरण चेतनालाई कवितामा कसरी बुझ्ने वा अर्थ लगाउने भन्ने गम्भीर प्रश्न हो। यही प्रश्नको समाधान गर्न आलोचक विलियम रुकर्टले ईको क्रिटिसिज्म अथवा पर्या आलोचनाको सिद्धान्त दिएका छन। ईको क्रिटिसिज्म शब्दावली निर्माण विलियम रुकर्टले गरेका हुन। यो शब्दावलीको प्रयोग पहिलोपटक उनको लेख लिटरेचर एन्ड ईकोलोजी मा भएको छ। 
विलियम रुकर्ट भन्छ कविता एक संचित ऊर्जा हो, औपचारिक अशान्ति , एक जीवित वस्तु, प्रवाहमा घुमाउरो हो।  उनी भन्छन कविता हाम्रो समाजमा एक हरियो वनस्पति हो र कवि घाम हो। कविता हरियो वनस्पति यसकारण हो किनकि कविताले कवि (घाम) बाट पाएको ऊर्जा संचित गरेर राख्छ अनि यसको खेरो जानु दिँदैन। विज्ञानको भाषामा ऊर्जालाई कब्जामा राख्नुलाई ईन्ट्रोपी भनिन्छ। यसरी कब्जा गरेको राखेको ऊर्जाबाट वनस्पतिले यसको विकास गरेर उत्पादनमूलक उत्पत्ति गर्दछ। यो प्रक्रियालाई विज्ञानमा फोटोसिन्थेसिस भन्छ। यही फोटोसिन्थेसिस प्रक्रिया जस्तै कविता पनि उत्पादन मूलक हुन्छ। कविता पाठकले पढछन। विद्यालयमा शिक्षक र विद्यार्थी दुई समुदाय बीच अन्तरक्रिया गराउँछ। यसरी सम्पूर्ण समाजमा कविताले प्रभाव पुर्याउँछ एक वनस्पतिले झैँ।  कवितालाई जीवको रुपमा लिनुपर्छ। एक वनस्पति झैँ कविताको जीवन हुन्छ। तर कविता शब्द क्रीडा हो भाषिक कला हो। कविताको हतियार शब्द मात्र हुन्छ। हुनत हाम्रो यथार्थ भाषाले निर्माण गर्छ भन्छ। हामीले बुझ्ने यथार्थ वास्तविक यथार्थ नभएर भाषाले निर्माण गरेको यथार्थ हुन्छ। कविता भाषिक कला भएको हुनाले यसले निर्माण गरेको सत्य भाषिक ज्ञान नै हुन्छ वस्तुगत ज्ञान होइन। उता पर्यावरण भने भाषेतर चेतना अथवा वस्तुगत चेतना हो। तर वस्तुगत चेतना मानव जीवनको आधार हो। यसैले मान्छेलाई यसको चेतना हुन जरुरी छ। कविताले यही दुई भिन्न वस्तुताको साँघु निर्माण गरेको हुन्छ। बिग्रदो पर्यावरणको चेतनाले विद्वत समाजलाई हाल चिन्तामा पुर्याउन थाले पनि कवितामा भने चेतना कुनै नयाँ बिम्व होइन। कवितामा पर्यावरण पुरानो समयदेखि नै रहिआएको हो। पाठकको चेतना अनुसार कवितामा रहेको विषय कसरी ग्रहण गरे त्यसमा निर्भर रहेको थियो। समकालीन समयमा वैज्ञानिक र पारिस्थिकी अभियन्ताहरूले सचेतना ल्याउने प्रयास गरेपछि कविताको पाठकले कवितामा  पर्यावरण बुझ्न र खोज्न आरम्भ भएको देखिन थालेको हो। नेपाली कवितामा भने यसले एक नयाँ भँगालो खोलिदियो। कविहरूले आफ्नो सृजनात्मकताको दिशा पारिस्थिकि उन्मुख बनाउन लागे। 
कविताबारे विलियम रुकटले रोचक कुरा लेखेका छन। उनी भन्छन कविता अनुवांशिकी सञ्चय जस्तै हो, सर्वोत्तम पारिस्थिकी तन्त्र जस्तै; कविहरूको अविरल उदार योगदानको कारण साहित्य वास्तविक भण्डार भएको छ, जसले यो ऊर्जा स्वयमबाट उत्पादन गर्दछ। (It is like the gene pool, like the best ecosystems. Literature cornicupia, thanks to the continuous generosity of the poets, who generate the energy out of themselves, requiring and usually receiving very little in return over and above the feedback from the creative art itself.")
पारिस्थिकी (ecology) को परिभाषा दिँदै भनेका छन यो जनसङ्ख्या, समुदायहरू, पारिस्थिकी तन्त्र अनि जीवमण्डलसित सम्बन्धित छ। (It is concerned with population, communities, ecosystems, and the biosphere.) पर्या कवितामा देखिने प्रमुख प्रवृत्तिमा स्वछन्दतावाद, विज्ञानवाद, मानव समाज र शहरीकरण व्यवस्था इत्यादि पर्दछ। पर्यावरण प्रेमी कवितामा प्रकृति अनुराग हुन्छ। प्रकृति अनुरक्ति स्वछन्दताको अभिन्न चिन्ह हो। 
पर्यावरणको ज्ञानको निम्ति प्रकृतिको विज्ञान बुझ्न आवश्यक छ। वातावरण, ऋतु र ऋतु परिवर्तनको बिशेषता, पानीको चरित्र एवम यसको चक्र, चर अचर र विविध प्राणीको एकार्कामा रहेको अन्तर्सम्बन्ध जस्ता मूलभूत विषयमा जानकारी रहेको हुनुपर्छ। 
पच्चतत्वको पालाम भित्र धेरै कविताहरू पर्यावरण चेत रहेका छन। पर्यावरणलाई कसरी बुझ्ने र यसको संरक्षणमा नै मानव जीवनको सुरक्षा रहन सक्ने स्पष्ट सन्देश छ। 
माथि भनिएको छ पारिस्थिकी चेतना भनेको बड्दो शहरीकरणले ल्याएको दुष्परिणामको चेतावनी पनि हो। अनियन्त्रित निर्माणले शहरमा पर्यावरणीय समस्या देखिन थालेको छ। 
"शहरलाई अँगाल्न आएको आकाश 
तर कस्तो विडम्बना 
कि उसको अगालो त तानातान र लुछाचुँडीमा परेर
अनगिन्ती टुक्राहरूमा हराइसक्यो सहरभित्रै
जहाँ स्क्वायर इन्चको हिसाबमा बिक्री हुन्छ उसको अँगालो …"
शहरमा कुनै खाली जग्गा नछोडेर सास फेर्न पनि मुश्किल हुने गरी भवन निर्माण गरेको चित्रण रहेको छ यहाँ। पारिस्थिकी अध्ययनमा अर्बन स्पेसको मुद्दा कविताले बोकेको छ। 
मान्छेले आफ्नो सुविधाको निम्ति धेरै प्राविधिक उपकरणहरू बनाएका छन। ती मध्ये कति उपकरण भने प्रकृतिको निम्ति घातक भएको प्रमाण देखिन्छ। यस्ता उपकरणले वायु प्रदुषण मात्र होइन वायुंमण्डलको माथिल्लो तहको ओजोन परतमा प्वाल बनाइदिन्छ। ओजोन परतले घातक घामको ज्योतिसित आएको  अल्ट्रा भायलेट किरण रोक्ने काम गर्छ। यसैले ओजोन परतमा प्वाल परे हाम्रो स्वास्थ्यलाई हानी पुर्याउनेछ। मान्छेको यही कार्यलाई दोष्याउँदै लेखेका छन
"तर तिमी त
मेरो यो आकाशलाई टुक्राटुक्रा च्यातेर 
तिम्रो डिपार्टमेन्टल स्टोरको सौदा पोको पार्न
थैलाहरू पो बनाउन खोजिरहेको छौ त "
सिमसारलाई अङ्ग्रेजीमा स्वाम्प (swamp) भनिन्छ। सिमसार भनेको हिलो भएको, दलदल, उनिउँ घारी भएको, सधैं हिलो जमेको ठाउँ हो। यस्तो ठाउँ जान जो कोही डराउँछ हिलोभित्र डुबिन्छ भनेर। तर प्रकृतिमा जैव विविधताको अनुपम नमुना हो सिमसार। वैज्ञानिकहरू भन्छन सिमसार मान्छेको शरीरमा भएको मिर्गौला जस्तै यसले पर्यावरण शुद्धीकरण भूमिका निर्वाह गर्छ। मिर्गौलाले हाम्रो शरीरको रगतलाई सफा पारेर शरीर स्वस्थ बनाउँछ। सिमसारलरले  जङ्गलमा भएको  दुर्गन्धमय नाइट्रोजन र फोसफोरस अवशोषित गर्दछ र पानीलाई सफा बनाउँछ। सिमसारमै औषधिमूलक झार बोजो उम्रिन्छ। बोजो जरो आदि रोग व्याधिमा उपचारको निम्ति प्रयोग गरिन्छ। सिमरायो साग सिमसारमा उम्रेको सबैभन्दा बडी स्वादिष्ट हुन्छ। 
 सिमसार पारिस्थिकीको एक महत्त्वपूर्ण घटक हो। तर हाम्रो परिवेशमा बन जङ्गल अतिक्रमण बडी भएको हुनाले यस्ता सिमसार मासिएर जाँदैछ र यो एक चिन्ताको विषय हो। "अचेल सिम धाप" कवितामा सिमसार मासिनुको चिन्ता व्यक्त गरिएको छ
"मेरा अरु धाप सन्तानहरू
र आफ्ना सिमसारहरू
थाहै नपाइ हराउँदै गएको देखेर 
फिक्रीमा छु।"
"सिमरायो हरियो शीतल उमारेर सन्चो मानिरहने सिमसार
बिसन्चो छ अचेल उसको आकार घटदै गएकोमा 
भ्यागुता राजारानीको दरबारमा क्वायर गाउनेहरू
हराउँदै गएकोमा पनि उदास छ ऊ"

इयान मेकहर्गले उनको पुस्तक Design With Nature मा लेखेका छन प्रत्येक व्यक्तिको सम्पूर्ण जीवमण्डलको निम्ति उत्तरदायी हुन्छ  र यसको निम्ति  सिर्जनात्मक एवम सहयोगात्मक कार्यमा संलग्न हुनुपर्दछ। (Each individual has a responsibility for the entire biosphere and is required to engage in creative and cooperative activities.)
कवि मनप्रसाद सुब्बाले पर्यावरण प्रेम र यसको बिग्रदो स्थितिमा चिन्ता व्यक्त गरेका कविता पाठक माझ राखेर आफ्नो उत्तरदायित्व निर्वाह गरेको छ भन्न सकिनेछ। 

आदिवासीजनजाति चेतना 
आदिवासीजनजाति साहित्य मूलत मौखिक नै हुन्छ। यस्ता साहित्यको यही चरित्र मुख्य मानेर यसको सैद्धान्तिकरन र नामकरण गर्ने श्रेय उगाण्डाको विद्वान पियो जिरिमुलाई दिइन्छ। उनले जनजाति मौखिक साहित्यलाई नयाँ नामकरण दिए वाचिकता (Orature) भनेर। Orature शब्दावलीको निर्माण ओरल (oral)  र लिटरेचर (literature)को सम्पृक्त (portmanteau) शब्द हो।  नेपाली समाजभित्र लिम्बू जातिमा पाइने मुन्धुम, लेप्चा जातिमा रहेको बुङ्थिङ, राई समुहको विजुवा मौखिक परम्परा कै हो। मुन्धुम भने लिपिकरण गरिएको पाइन्छ। यी सबै परम्परा विशिष्ट समुदायभित्र रहने जिवित परम्परा हो जो एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण भएर बाँचेको हुन्छ। सिर्जनात्मक साहित्यमा यही पारम्परिक ज्ञान दर्शन झल्काउने लेखन नै आदिवासीजनजाति लेखन हो। आदिवासीजनजातिले भोगेको जीवनको चित्रण आदिवासी लेखनभित्र पर्दछ। आदिवासी चिन्तक बन्दना टेटेले बताए अनुसार आदिवासी दर्शनको तत्व भएको साहित्य नै आदिवासी साहित्य हो ( आदिवासियत (आदिवासी दर्शन) के तत्वों वाला साहित्य ही आदिवासी साहित्य हैं।) 
पञ्चतत्वको पालाममा संकलित कविताहरूमा दुई कविता जनजाति ज्ञानबाट प्रेरित छन। ती दुई कविताहरू हुन "आगो र आगोको हंस" अनि "बडा 
रङ्गीत अनि टिस्टाको कथा" । "आगो र आगोको हंस" मुन्धुमबाट प्रेरित हुन भने "बडा रङ्गीत अनि टिस्टाको कथा" लेप्चा लोक कथाबाट प्रेरित हुन। 
" ओ येबा ! ओ येमा !
देखेनौ कि मिसाम बिच्केर बहुलाएको 
मिसामको जिब्रो आगो दन्केर छ जताभावी
खै त्यो मुन्धुम मिसामलाई मनाएर मत्थर पार्ने ?"
येवा र येमा पुरोहित हुन। येवा पुरुष हुन भने येमा नारी। यी दुवैमा मुन्धुमको मन्त्र जप्ने  क्षमता हुन्छ। मुन्धुमको मान्यता छ आगो एक जीवित प्राणी जस्तै हो यसैले उसको हंस छ। मिसाम भनेको हंस हो। आगो अनियन्त्रित भएर जाँदा धेरै विनाशकारी हुन्छ।  आगोलाई शान्त पार्न यही कारण यहाँ येवा र येमा अर्थात मुन्धुम पुरोहितको सम्झना गरिएको छ। 
कवितालाई आदिवासी ज्ञान परम्पराभित्र हेरिनु पर्नेछ। वेदमा अग्नि ईन्द्र पश्चात् दोस्रो ठूलो देवताको रुपमा स्थापित छ। तर मुन्धुममा भने मानवीय गुण लिएको जस्तो देखाएको छ। उसलाई रिस उठदा उसलाई मानमनितो गर्नु पर्ने हुन्छ। आदिवासी ज्ञान प्रकृति आधारित हुन्छ। कविताले पनि त्यही देखाएको छ। 
आगोको कथा ग्रीक मिथकमा छ। ग्रीक मिथकले भन्छ प्रोमेथियसले आगो भगवान जिउसबाट चोरेर मानवजातिलाई उनीहरूको कल्याणार्थ दिए। यसको लागि पछि गएर प्रोमेथियस प्रताडित हुन पुगे। 
अमेरिकी माया सभ्यतामा पनि मुन्धुममा झैँ आगोलाई जीवित प्राणीको रुपमा लिइएको परम्परा थियो। 
आगोको वैज्ञानिक दृष्टि भने फरक छ। वस्तुको तीन अवस्था भनेर हामी चिन्दछौँ सलिड, लिक्विड र ग्यास भनेर। वैज्ञानिक दृष्टिमा आगो वस्तुको चौथो अवस्था हो जसलाई प्लाज्मा भनिन्छ। 

"बडा रङ्गीत अनि टिस्टाको कथा" कवितामा "बडा रङ्गीत" स्थान विशेष नाम हो किनकि सिक्किममा बडा रङ्गीत भनेर होइन रङ्गीत मात्र भनेर चिनिन्छ। बिजनबारी पुलबजार बजार भएर बग्ने सानो नदी छोटा रङ्गीत भनिन्छ। यो नदी रङ्गीत नदीको ट्रिब्युटरी हो। कवि मनप्रसाद सुब्बा बिजनबारीको हुनाले उनी रङ्गीत नदीसित छोटा रङ्गीत जोडेर हेर्नु स्वाभाविक लाग्छ। तर यहाँ कवितामा जुन लेप्चा लोक कथा आएको छ यसको सम्बन्ध रङ्गीत र टिस्टा नदी मात्र बुझिने हो। हिन्दू मिथकीय कथामा गङ्गा नदी स्वयं गङ्गा देवीको अवतार हो भने टिस्टा र रङ्गीत गङ्गा देवी जस्तो देवी नभएर देवताको सिर्जना हो। आदिवासी लोक कथामा रहेको हुनाले आदिवासी चेतनाभित्र यसलाई हेर्ने सकिनेछ।  कवितामा सानू लामाको प्रसिद्ध गीत "जहाँ बग्छ टिस्टा रङ्गीत" र विकास गोतामेको कवितांश प्रवेश पेस्टिच (pastiche) रुपमा राखिएको छ। कविता वास्तवमा नितान्त एकल व्यक्तिको सिर्जना नभएर परम्परागत हुन्छ भन्ने चेतना यसले बोक्न सकेको देखिन्छ। 

उत्तरऔपनिवेशिकता 
एसिया, अफ्रिका र दक्षिण अमेरिकाका धेरै मुलुकहरू लामो समय पाश्चात्य देशहरू अधीन उपनिवेश भएर बसे। दीर्घकाल उपनिवेशित रहँदा ती देशहरूका रैथाने नागरिकहरूले आफ्नो इतिहास संस्कृति बिर्से। ( postcolonialism can be described as a condition troubled by the consequences of a self willed historical amnesia) (Posycolonial Theory: Leela Gandhi) पछि गएर जब ती देशहरू उपनिवेशबाट उन्मुक्ति पाए उनीहरूले बुझे उनीहरूलाई उपनिवेशकले भ्रामक इतिहास पढाइरहेका रहेका रहेछन। उनीहरूको संस्कृति नाश गरेर कृतिम संस्कृतिको बोझ उनीहरूमा थोपिएको रहेछ। उपनिवेशबाट उन्मुक्ति पाएका नागरिकहरूले आफ्नो देशको इतिहास र संस्कृतिको पुनराविष्कार र पुनर्स्थापना नै उत्तर औपनिवेशिक चेतना हो। यसमा उनीहरूको उपनिवेशकहरूप्रतिको विरोध पनि सामेल हुन्छ। 
"हावा यस्तरी चल्यो" कविता उत्तर औपनिवेश चेतना युक्त छ। 
"कहिल्यै वासी हुन नसकेको आदिवासी हावा 
सुस्तरी तर यस्तरी चल्यो 
कि उहिले नै
एटलाण्टिक पारिबाट आएर 
जरा गहिरो गाढेर उभिएको 
कोलम्बसको मूर्ति ढल्यो"
यहाँ कविताले बताउँछ पाश्चात्य संसारको मान्यता अमान्य भएको र उनीहरूको वैचारिकता "ढल्यो।" ढल्नु पर्छ
"तिनीहरूको गन्हाउने सासले फुकेर फुकेर 
निभाइदिएको त्यो आदिम आगो
आज फेरि काँचो माटोको गन्धसरी हावा चलेर हुर्र बल्यो।
अनि घाम जत्तिकै प्राचीन आगो  त्यो भर्भराउन थाल्यो।"
उपनिवेशकहरू रैथाने नागरिकहरूको स्मृति भ्रंस गरिदिए (निभाइदिए) त्यो आदिम आगो।"
"कोलम्बस" को प्रतीक कवि वैरागी काइँलाको प्रख्यात कविता "मातेको मान्छेको भाषण…."मा प्रयोग भएको छ

"कोलम्बसको पैतालाले
यस सडकमाथि टेक्न पाउनु पर्छ ।
यौटा विद्रोहले यहाँ शिर उचालेर हिँड्न पाउनु पर्छ ।"
कवि काइँलाको कवितामा "कोलम्बस" उन्मुक्ति, विद्रोह, स्वतन्त्रताको प्रतीक भएको छ। एक नयाँ ज्ञान, खोजी एवम मानव मुक्तिको सन्देश लिएर आएको छ। यसको विपरीत मनप्रसाद सुब्बाको कवितामा यहाँ "कोलम्बस" उपनिवेशक, शोषक, अत्याचारी भएर आएको छ। उत्तर औपनिवेशिक चेतनाले यही देख्दछ। कोलम्बस एक सकारात्मक प्रतीकबाट नकारात्मक प्रतीक हुने यात्रामा ६ दशक लागेको देखिन्छ। "मातेको मान्छेको भाषण" २९६४ मा प्रकाशित भएको थियो र "हावा यस्तरी चल्यो" २०२१ सालमा। 
कविताले बताउँछ समय परिवर्तन भएको छ, मानिसमा चेतना आएको छ। उसको हराएको स्मृति उद्धार गर्न सकेको छ। अब उसले उपनिवेशको बोझ फ्याकेर अघि बडेको छ।
"उता अटलाण्टिकपारि लगाएको त्यो मोजा, त्यो कट्टु 
यता अटलाण्टिक वारि आइपुगेर फुकाल्दा जुन दुर्गन्ध चल्यो 
त्यसले मुर्छा परेको हावा अहिले ताजा भइसकेको छ"
"कट्टु" "मोजा" "दुर्गन्ध" बिम्व जडान गरेर कोलम्बसको चित्रण यहाँ जसरी गरिएको छ यसले  पाश्चात्य सभ्यताको मूल्यमान्यता प्रश्नचिह्न लगाउँदछ। 
यस कवितालाई एक डिकोलोनाइज्ड माइन्ड अर्थात प्रति- उपनिवेशिकरणको घोषणा रुपमा पढन सकिन्छ। 
उत्तर औपनिवेशिक चेतना लिएको नमुना कविता भएको छ। 
सङ्कलनको अन्तिम कविता "पिञ्जरा भित्र बाहिर भित्र" शीर्षक लिएर आएको छ। यो कविताले कवि शिरोमणि लेखनाथ पौड्यालको बहु उल्लेखित कविता "पिञ्जडाको सुगा"को झझल्को दिन्छ। पिँजडाको सुगा" कविताले आत्मा र शरीरको सम्बन्ध खुलासा गर्छ। पिँजडालाई भौतिक संसार, सामाजिकता र दैहिक शरीरको मानेको छ भने सुगा यही भित्र कैद भएको आत्मा। आत्माको अभिलाषा हुन्छ कैद मुक्ति अथवा शरीरको बन्धनबाट उन्मुक्ति। "पिँजडाको सुगा" र "पिँजडा भित्र बाहिर भित्र " बीच संरचनात्मक अन्तर छ। सुब्बाको कविताको सुगा भने पिँजडाको कैदबाट बाहिर आउन स्वतन्त्र छ। 
"पाँच तत्वको पञ्जाभित्र बाँधिएरै तर तत्वमुक्त पनि ऊ
आकार आकृतिको आयामबाट फुक्का
रङगरोगनको रोगभोगबाट मुक्त 
स्पर्शले नछोइने
गन्धबाट निर्बन्ध
आवाजको तरङ्गबाट स्वतन्त्र।"
पौड्यालले भौतिक शरीर र शरीरभित्र कैद यसको आत्माको वेदना लेखेका हुन भने सुब्बाले शरीर र शरीरभित्र जीवित चेतना बारे बताएका हुन। 
आत्मा शरीर एवम मोक्ष हिन्दू धर्ममा बहुचर्चित विषय हो। हिन्दू धर्मको बुनियाद यही मुद्दाको चिन्तनमा आधारित देखिन्छ। आत्माको मुक्ति कामना र यसको दर्शन चिन्तनमा दशौ शताब्दीको शैव दर्शन चिन्तक प्रवर्तक अभिनव गुप्तको यो श्लोक स्मरणीय छ

"संसारोऽस्ति न तत्त्वतस्तनुभृतां बन्धस्य वार्तेव का बन्धो यस्य न जातु तस्य वितथा मुक्तस्य मुक्तिक्रिया। 
मिथ्यामोहकृदेष रज्जुभुजगच्छायापिशाचभ्रमो 
मा किंचित्त्यज मा गृहाण विलस स्वस्थो यथावस्थितः ।।"
( तात्विक रुपमा मनुष्यको लागि संसार छँदै छैन  फेरि बन्धनको बात किन ? जब बन्धन एक मिथ्या कल्पना हो र मुक्त हुने क्रियाको कुनै अर्थ छैन। डोरीलाई साँप देखे जस्तै , अथवा पिशाचको छाँया जस्तै यो सबै संसार (संसार, बन्धन, मुक्ति) मोहको मिथ्या विश्वासमा आधारित छ। यहीकारण मेरा मित्र, न केही त्याग गर न केही ग्रहण गर, जस्तो छौ, जहाँ छौ, स्वस्थ बस।)
अभिनव गुप्तको यो श्लोकले "पिँजडाको सुगा" को मूल विचारमा प्रहार गरेको छ। जीवन मरणको चक्र मिथ्या हो भने व्यक्तिले जीवन रहँदा मोक्षको आकांक्षा प्रयास निरर्थक बन्दछ। 
कवि सुब्बाको कवितामा पात्र बन्धनभित्र रहिरहने वाध्यता छैन। ऊ भित्र बाहिर स्वतन्त्र भएर विचरण गर्न सक्तछ। यसैले ऊ मुक्त छ। 
"पिञ्जडाभित्र बाहिर भित्र" कविताले दार्शनिक भाव लिएर आएको छ। अघिल्ला कविताहरू प्रकृतिसित एकाम्यता देखिएको थियो। मानिस र प्रकृतिको जीवन स्रोत एउटै भएको हुनाले उनीहरूको जीवन सहकारी रुपमा रहनुपर्ने विचार राखिएको छ। तर यो कवितामा भनेर शरीर र मनको भिन्नता देखिएको छ। यसले द्वैतता देखाएको छ। यसलाई दार्शनिक भाषामा देह र मनको भिन्नता देखाएको द्वैतता दर्शन भनिन्छ। पाश्चात्य दर्शनमा रेने डेकार्टको द्वैतता दर्शन छ जसलाई कार्टेसियन कोगिटो भनेर जानिन्छ। उसले भनेको थियो म छु यसैले मेरो अस्तित्व छ। यो सिद्धान्तले व्यक्तिको मन र शरीर छुट्याएर हेर्छ। वस्तुलाई हामी मनबाट मात्र चिन्न सक्छौं। मनको चेतनाले नै हामीलाई अन्य वस्तु बुझ्ने क्षमता दिन्छ। डेकार्टको विचार अनुसार मन नै सर्वोच्च छ किनकि मन भएको कारण हामीलाई हाम्रो स्थूल शरीरको चेतना हुन्छ।  पाश्चात्य दर्शनमा डेकार्टको उच्च सम्मान छ। उनको दर्शन नै उदबोधन युग र वैज्ञानिक युगको जग बसाउन मूल आधार बनियो। 
डेकार्टको कोगिटो दर्शनमा झैँ "पिञ्जराभित्र बाहिर भित्र " कवितामा मन र शरीरको भिन्नता देखाइएको छ
"उभित्र बाहिर बल्ने आगो र उज्यालोदेखि धेरै माथि 
एक छुट्टै ज्योतिविन्दु छ ऊभित्र कतानेर"
"ऊभित्र बाहिर बल्ने आगो" जिउँदो शरीरलाई भनिएको हो। "धेरै माथि 
एक छुट्टै ज्योतिविन्दु" मन या चेतना हो। यहाँ कवितामा शरीर र मन द्वय अस्तित्व रहेको देखाइएको छ जो डेकार्टको दर्शनमा भएको द्वैततासित तालमेल राख्छ। 
लेखनाथ पौड्यालको "पिञ्जडाको सुगा" र "पिञ्जराभित्र बाहिर भित्र" यही आएर संरचनात्मक  भिन्नता आउँछ। पौड्यालको कवितामा अद्वैतवादी
दर्शन छ। मुक्त भएर एकाकार रुपको आकांक्षा बाँचेको छ भने सुब्बाको कविता द्वैत दर्शनमा रहेको र प्रकृति मोह विच्छेद भएको देखिन्न अर्थात दैहिक बन्धनको पूर्ण मुक्ति कामना छैन। 
"आफ्नो देहको देशलाई नियाल्छ अनि फेरि नियाल्छ
र सोध्छ आफैंलाई यस्तो आकर्षक आकृति कसको कृति"
"फेरि यै उन्मुक्तिको कथा भन्नलाई 
ऊ घरीघरी
उहीँ पञ्चभुतको पिञ्जराभित्र पसेर
मैना बोलिरहन्छ…..ऊ मैना नोलिरहन्छ।"
"पञ्चभूतको पिञ्जराभित्र" पस्नु (बस्नु) बाध्यता हो र रहर पनि हो। उसको आफ्नो अस्तित्व र आफू बाँचेको देखिनलाई मुक्ति होइन बन्धन मै भएको देखाउनुपर्छ। उसको आवाज बन्धनको घेरामा मात्र सुनिने हुन्छ। मौनता होइन आवाजप्रति मोह छ।





























Comments

Popular posts from this blog

अगमसिहं गिरी (युद्ध र योद्धा ) आलोचना

             युद्ध र योद्धा : एक पठन                          पेम्पा तामङ      अगमसिहं गिरी भारतीय नेपाली साहित्यमा सर्वाधिक चर्चामा रहेको कवि हो। उनलाई मूलतः स्वछन्दतावादी कवि र जातीय कवि भनेर आलोचकहरूले चिनाएका छन भने कही कही अस्तित्ववादी भनी परिचय दिएको छ। उनका प्रारम्भिक कविताहरू भावनात्मक र करुणामय थिए यसैले उनलाई दुखवादी पनि भनिएको  हो। गिरीका कविताहरू आम चलनको भाषामा लेखिएका र प्रतीक र बिम्वको जडान थोरै रहेका छन। सरल , सहज र बोधगम्य रहेको हुनाले आम पाठकबीच लोकप्रियता बडी रहेको थियो। जीवन , मृत्यु , दुख , बिरह उनका कविताको भावलहरी रहेको छ। कल्पनाको निर्बाध उडान र जीवन परान्मुख रहेको मानिन्छ। जीवनलाई यसरी हेर्ने दृष्टि छायावाद र स्वछन्दतावा भनेर चिनिन्छ। हुनत छायावाद र स्वछन्दतावाद यी बाहेक अन्य पनि हुन। स्वच्छन्दतावादको प्रवर्तक विलियम वर्डस्वर्थको लेखन सिद्धान्त कविताको भाषा आम मानिसको बोलीको शैलीमा हु...

Circle of Karma -Bhutanese novel review

Circle of Karma   Authored by Kunzang Choden, a native of a small village in Bumthang District in  north-central Bhutan, Circle of Karma is the first English novel to emerge from the land of the druk (Bhutan),   the mythical dragon. Published in 2005, the novel instantly courted fame far and wide, and has since been translated into several languages. The novel had been short listed for the prestigious Elle Prix des Lectrices too. Choden was born in the year of the druk , or the year of the dragon, corresponding to 1952 in the Gregorian calendar. Since Choden was born into a prosperous family, her parents sent her to a convent school in Kalimpong when she was nine years of age. Choden recounts the initial difficulty she encountered in the school because, as is prevalent in Bhutan, she did not have a surname attached to her first name. Moreover her father’s name was Kunzang Dorje and the Reverend Mother of her school refused to believe that the father an...

Remika Thapa's Farak Baato

 Two novels of  Puspa Rai                         Pempa Tamang   “Farak Baato”  or “Different Road”  is the title of the critical  book  written by Dr. Remika Thapa. As the title suggests Remika highlights the alternative  point of view proposed by Ms Puspa Rai in her two fictional works namely “Bholiko Pratikshya” or “Waiting for Tomorrow” and “Madhyantar” or “Interval”. Dr. Remika maintains that Bholiko Pratikshya is the first feminist novel in Indian Nepali Language and consequently Puspa Rai has become the first feminist novelist  in Indian Nepali writings.   The two novels can be called duology as the second novel follows the theme of earlier one. The main characters of the fictions are women in both the novels.  The first novel “Bholiko Pratikshya” is about women’s  independence in choice of her existence and her life. It is about the motherhood outsid...