दुई शब्द
पेम्पा तामाङ
कवि उज्ज्वल बमजन भारतेली नेपाली साहित्यमा एक
परिचित नाम हो। कालेबुङ क्षेत्रले जन्माएका प्रतिभाहरूमा उज्ज्वल बमजन एक हो भनेर
भन्न सहजै सकिनेछ।
दुई दशक अघि कालेबुङबाट सञ्चालित विचलन लेखन अभियानमा
उनको सक्रिय भूमिका थियो। विचलन पत्रिकामा उनको उम्दा कविताहरू रसपान गर्ने अवसर पाइएको
थियो।
पछिल्लो समय उनको गीत
"सेन्तेरेम" ले सम्पूर्ण हिमाली क्षेत्र नै तताएको र विभित्र पर्व उत्सव
आदिमा माइकमा यही गीत धेरै बजाइने गरिएको थाहा भएको हो।
हिजोआज उनी सामाजिक
सञ्जालमा धेरै सक्रिय छन र समाजका विविध विषयमा उनको तीखो प्रतिक्रिया आइरहेको देखिन
सकिन्छ। यसबाट बुझिन्छ उज्ज्वल आफ्नो समाजमा भइरहेको हरेक गतिविधिसित परिचित मात्र
होइन तर यसमा आफ्नो मत मतान्तर राख्न पछि हटदैन। उनी कुनै विशेष पूर्वाग्रह नराखी
आफ्नो विचार राख्न सक्षम देखिन्छ। कवितालाई बुझ्ने र आफ्नो कविताको मर्म यही
वैचारिक धरातलमा राखेका छन।
कविताले ती कुराहरू सम्बोधन गरेका छन समाज र व्यक्तिमा
देखिएका उत्छ्रृङ्कलता, अराजकता र व्यभिचार। इतिहासको गर्भमा लुकेका अनेकौं कथाहरू उजागर गरिएको छ। सत्ता
र शासित बीचको नमेटिने खाडल र किनारामा रहेका जनजाति समूहको अवहेलना, सत्ता र कोर्पोरेटको जगतको मिलिभगतमा गरीब निमुखा मजदुरको शोषण कवितामा आएको
छ।
सङ्कलनमा ६१ वटा कविताहरू
समावेश छन। कोही लामा छन भने कोही छोटा तर मुक्तक आयामको भने छैन। यसबाट बुझिन्छ
कविताको रुपको विविधतामा नभएर कविताको अन्तर्वस्तुको विविधतालाई प्राथमिकता दिइएको
बुझ्न सकिन्छ। अन्तर्वस्तुको विविधताले सङ्कलनमा विशेष भूमिका निर्वाह गरेको
स्वीकार्नु पर्नेछ। कविताले पाठकलाई सम्मोहित गर्ने यही नै प्रमुख कडी बनेको छ। उज्ज्वलले
कविताका विषय पारम्परिक र नवोन्मेषी दुवै धारामा राखेका छन। पारम्परिक धाराका कविता
भन्दा नवोन्मेषी धाराका कविताहरू चित्ताकर्षक रहेको काव्य पठनमा अनुभूति हुनेछ। पुराना
र नयाँ परम्परा एकसाथ बहेको देख्दा सङ्कलन एक सुनियोजित योजनाबद्ध नरहेर एक स्वतस्फूर्त
पाठ हो भनेर किटान हुनेछ।
कविताको वर्गीकरण
गर्न परे लेप्चा जनजातिमाथि सबैभन्दा बडी सङ्ख्यामा कविताहरू रहेका छन। "सिर्जना
र मायाल ल्याङ", "गेबु आछ्योकको बध", "रानीबन र नलिमित", "कोक विम याङ
ताल चेक्ता" र "रिबिरिपसँग"। लेप्चा जातिको इतिहासमा आधारित यी कविताहरूले
उनीहरूको इतिहासलाई यहाँ कवितात्मक रुपमा राखिएको छ। पाठ्यपुस्तकतिर लेप्चा जातिको
इतिहास थोरैमात्र देखिन्छ र विश्वसनीय रुपमा प्रस्तुति गरिएको पनि हुन्न। यद्यपि
लेप्चा जातिको इतिहासकारहरूले भने पुस्तकहरू लेखेका छन र आफ्नो इतिहास विस्मृतिको गर्भमा
लुक्न दिएको छैन। "गेबु आछ्योकको बध" मिथकीय जस्तो लागे पनि गेबु आछ्योक
एक काल्पनिक पात्र नभएर ऐतिहासिक पात्र थिए। उनको नाम सिक्किमको नवौं छोग्याल थुटोब
नामग्यालले सन १९०८ मा लेखेका सिक्किमको इतिहासमा उल्लेख भएको पाइन्छ। तर यसमा नाम
भने गेबु आछ्योक नभएर स्यालगो आछ्योक रहेको छ। स्याल्गो आछ्योकलाई भुटानीहरूले छल गरेर
दालिम गढीमा मारेको बताएको छ। यही इतिहास कवितामा यसरी आएको छ
"तिम्रो ज्वाज्यल्यमान सूर्य मुहारको राप खप्न नसकी
शिखण्डी शत्रुहरूले पिठ्यूँ पछिल्तिरबाट
आक्रमण आँटेर
गरेथ्यो तिम्रो निर्मम बध
र प्राप्त गरेथ्यो बहुमूल्य शहादत"
लेप्चा जातिको सत्ता
पतनको इतिहासको पछि सिक्किम र भुटानको वैमनस्यताको मुख्य
भूमिका रहेको थियो। उज्ज्वलको कवितामा यहाँ नआए पनि सिक्किम र भुटानको युद्धको प्रसङ्ग
बुझे यी कविताहरूको पृष्ठभूमि थाहा पाउन सहज हुनेछ।
सिक्किमको इतिहासले
बताउँछ सम्पूर्ण कालेबुङ क्षेत्र सिक्किम अन्तर्गत थियो सिक्किमको दोस्रो राजाले तीन रानी बिहे गरेका थिए।
तीन रानीमा एक भुटानी थिई। राजाको पहिलो सन्तान यही भुटानी रानीबाट जन्मेकी राजकुमारी
पाण्डे ओइ्मु थिई। सिक्किमको दोस्रो राजाको मृत्यु सन 1700मा भयो। राजाको दोस्रो
सन्तान तिब्बती रानीबाट जन्मेको राजकुमार छाग्दोर नामग्याल थियो। राजाको मृत्यु
पछि राजकुमारी पेण्डे ओइ्मुले चाहेकी थिई शासनको बागडोर उसलाई दिनुपर्नेछ भनेर। उनी
ज्येष्ठ सन्तानको आधारमा आफ्नो दावी राखेकी थिई। तर राज्यारोहन भने दोस्रो सन्तान
राजकुमार छाग्दोर नामग्याललाई गरियो। राजकुमारी पेण्डे ओइ्मुलाई यो विषय असहनीय भयो।
उनले आफ्नो भाइ राजा छाग्दोरलाई हत्या गर्ने योजना बनाई र भुटानको राजालाई सहयोग मागिन।
भुटानको राजाले छाग्दोर नामग्यालको हत्या गर्न आफ्नो सेना पठाए। भुटानबाट भएको
आक्रमणमा पहिलो प्रहार कालेबुङको लेप्चा सत्तामा पर्यो। यही भुटानी आक्रमणको शिकार
भएको थियो लेप्चा राजा गेबु आछ्योक। राजा छाक्दोरलाई उसको भारदारहरूले सुरक्षित बचाएर
तिब्बत पुर्याए। इतिहासमा लेखिएको छ यतिबेला सम्पूर्ण सिक्किम भुटान अधीन भएको
थियो र 8 वर्ष भुटानको शासनमा रहे। पछि तिब्बतको मध्यस्थतामा भुटानले सिक्किमको
तत्कालीन राजधानी रापदेन्से खाली गरे तर टिस्टा सीमाना राखेर भुटानले कालेबुङ उसको
क्षेत्र बनायो। यसरी सिक्किमले कालेबुङ गुमायो। यसको साथै लेप्चाहरूको दामसाङ गढी र
दालिम गढी भुटान अधीन हुनु पुग्यो।
सन 1715मा राजकुमारी
पेन्डे ओङ्मुले एक षडयन्त्र रचेर आफ्नो भाइ राजा छाक्दोर नामग्यालको हत्या गराए। राजा
छाक्दोरको वफादारहरूले राजकुमारी पेन्डे ओङ्मुको नाम्ची स्थित नादाग गुम्बामा
हत्या गरिदिए।
कविले गेबु आछ्योकलाई
इतिहासको गर्भमा सीमित बनाएर राखेका छैनन् बरु उनलाई स्वअस्तित्व, स्वतन्त्रता र आत्मनिर्भरताको प्रतीकको रुपमा उभ्याएका छन। गेबु आछ्योक ती प्रत्येक
हतभागी, भुक्तभोगी षडयन्त्रका सिकार हुनेहरूको निम्ति सङ्घर्ष र क्रान्तिको
प्रेरक शक्ति मानेका छन।
"जुर्मुराई उठेका छन् यी सुनामी
शब्दहरू तिम्रो वधको गोथिक प्रतिवादमा
एसएमएस मतको अप्राप्तिमा
विस्मृतिको पेनड्राइभमा खिया लागी
प्रिन्ट / इलेक्ट्रोनिक मिडियाका लीला / चर्तिकलाबाट
वञ्चित म्याडम तुषादका
मोम सङ्ग्रहालय अनुपस्थित / भुक्तभोगी
गेबु आछ्योकका जागित्रे सम्झनाहरू ठोकिरहन्छन् वर्तमानका कड़ा हत्केलाहरूमा तीक्ष्ण विष्णानुक डम्बरचोकमा
नेटको झोलाभित्र बराम पारेर राखिएका छन् महिषासुर आतङ्कको विज्ञापनार्थ गेबु आछयीक, बुद्धिकर्ण डेनियल पर्ल
र निर्मल राईका
वध गरिएका स्वाभिमानी
शि
र
हरू
यद्यपि
सङ्घर्षरत छन् अनवरत गेबु आछ्योकहरू
हत्याउन विजय दुन्दुभिको दर्पालु दालिमगढ़
र सुरक्षार्थ स्वअस्तित्वको स्वाभिमानी दामसाङगढ़ी"
समकालीन कविता पारम्परिक
कविता जस्तो एकल स्वर लिएर आएको हुँदैन। कवि वा कविता एकलो नआएर ऊसित सिङ्गो
परम्परा विगतको कथा बोकेर आएको हुन्छ र यस्ता कविता एकल यात्रा नभएर एक सामुहिक यात्रा
भएको हुन्छ। विगत र विगतका कथाहरू उदको वर्तमान भएर आएको हुन्छ। विगत र वर्तमानको
समयको व्यवधान मेटिएको हुन्छ। विज्ञानमा एक अवधारणा छ वर्म होल अर्थात किरा आदिले बनाएको
दुलो। वर्म होल त्यस्तो द्वार हो जसबाट समय यात्रा अर्थात अतीत वर्तमान र भविष्य जुनै
अवस्थामा पुग्न सकिनेछ। कवि उज्ज्वलले कविताहरूमा यही प्रविधि अपनाएका छन। उनका
कविताहरूमा अतीत र वर्तमान एकैसाथ परिभ्रमण गरेको आभास हुन्छ।
बुद्धसित सम्बन्धित चार कविताहरू छन "रिमिक्स बुद्ध", सिद्धार्थसँग", बुद्धसँग" र "बुद्ध वापसी"।
यी कविताहरू बुद्धको समय र समकालीन समयबिच दोलायमान रहेका छन। दुवै काल यी कविताहरूमा
समाहित भएको छ। "रिमिक्स बुद्ध" कवितामा आधुनिक सङ्गीतको तकनिकी शब्द रिमिक्स
अर्थात फेरि मिसाएको यहाँ प्रयोग गरिएको छ। यसको अर्थ बुद्धको कथालाई नयाँ
सन्दर्भमा हेरिनु आश्वादन लिनु हुन्छ। बुद्धको गृह त्यागलाई कथाको प्रारम्भ बिन्दु
मानिएको छ। आफ्नो राजदरबार, पत्नी यधोधरा र पुत्र राहुललाई परित्याग गरी ज्ञान र निर्वाणको मार्ग खोजीमा हिडछ।
पतिको परित्यागले यशोधरा विरह पीडाले व्याकुल
बनेकी चित्रण आउँदछ। तर यहाँ आजको यशोधरा विरह पीडाले छटपटाएकी छैन। ऊ घरमा टेलिभिजनका
सिरियल हेर्न मस्त छिन। पति वियोगको शोकाकुल प्रतिक्रिया उसले देखाउँदिन। उसलाई
चिन्ता पनि छैन।
"हरेक पलहरूमा
केवल ग्ल्यामर शोहरूकै खोज
सेतो हिँउमा
पोलर बियरले
ताजा सिकार खोजेजस्तै रिमोट छ कि उ
छे"
छोरा राहुल पिताको
अनुपस्थितिमा कुनै विक्षोभ देखाउँदैन
"लापत्ता
राहुल छोरा
भीडीओ पार्लरमा
मस्त छ सायद
ग्यास्ट्रीक / मधुमेह
उच्चरक्तचाप पनि छ रामदेवको आस्था गरूँ कि
अनुलोम / विलोम कपालभाती
मन
हुटहुटिन्छ / उसको
बोधि ज्ञानको लालसाले
धेरै पावरको
सर्च लाइट लिएर निस्कन्छ एकाबिहानै घरबाट / उ बाटोभरि
बलिरहेको हुन्छ कसैले पनि ननिभाएका
सरकारी स्ट्रिट लाइटहरू"
यशोधरा र राहुलको विलोम
छवि यहाँ देखाइएको छ जो आजको यथार्थ पनि हो। कविताले आजको समाजको तस्वीर देखाएको
छ।
"रिमिक्स बुद्ध" यशोधरा र राहुल देखिन्छ भने "बुद्धसँग"
कवितामा स्वयं बुद्धको तस्वीर देखाइएको छ। बुद्धले ज्ञान र निर्वाण प्राप्तिको
निम्ति गृहत्याग गरे तर आजको बुद्ध भने आफ्नी पत्नीको त्याग गर्न सक्तैन, ऊ मायामोहको बन्धनमा लिप्त छ। उसलाई ज्ञान र मुक्तिको भन्दा आफ्नो र आफ्नो
परिवारको सुखशान्तिको चिन्ता बडी हुन्छ। आधुनिक
मान्छे स्वार्थी छ र समाजहित भन्दा निजी हितमा उसको चेतना अग्रसर रहन्छ।
"तिमीले
यशोधरा छोड्यौ
म मेरी मनमायालाई छोड्नै सक्दिन !
तिमीले राहुललाई छोड्यौं
तर म मेरी सानी पुकीलाई
छोड्ने कुरा त के?
म यस्तो कुरा सोच्नु पनि सक्दिन !
तिमीले त मोक्ष प्राप्तिको लागि
निर्वाण प्राप्तिको लागि
भव्य महल छोडिदियौं !
तर म कहिले छोडन सक्दिन
यो मेरो सानो घर"
रामायण र महाभारतका
कथा असंख्य सर्जकहरूका निम्ति आफ्नो रचनाका स्रोत बनेका छन। यस्ता रचनाहरू दुई
धारमा लेखिएका पाइन्छन। यी दुई महाकाव्यहरूका पात्र पात्राहरूको विशेषताको विस्तारण
र थप कथावस्तु जोडेर निर्मित रचनाहरू एकातिर देख्न पाइन्छ भने यसका पात्र पात्राको
व्यतिरेकात्मक चरित्र वा कथावस्तु निर्माण गरिएका रचना अर्कोतिर रहेको पढन पाइन्छ।
यही विषय उज्ज्वलको तीन कविताले लिएर आएको छ "साइबर क्याफेमा एकलव्य", "छैटौं पाण्डब" र "हनुमान"। "एकलव्य" महाभारतको एक पात्र
हो भने "हनुमान" रामायणको कथावस्तुमा प्रमुख कडी हो। तर यहाँ कवितामा भने
यी पौराणिक पात्रहरू आधुनिक चरित्रमा उभ्याइएका छन र यिनीहरूले आजको मान्छेको प्रवृत्ति
प्रतिबिम्वित गर्दछ पौराणिक आदर्शको होइन।
एकलव्य महाभारतको एक
पात्र भए पनि यसको उपस्थितिले प्राचीन भारतको समाज व्यवस्थाको परिचय दिन्छ जसको निरन्तरता
दुई हजार वर्ष बितेर गए पनि अझ जीवन्त देखिन्छ। एकलव्यले प्रमाणित गर्छ त्यो प्राचीन
कालमा जात व्यवस्था थियो, वर्ण व्यवस्था थियो। एकलव्य जातकै कारण शिक्षाबाट वञ्चित हुन्छ, उसको नागरिक अधिकार सीमित हुन्छ, उसको मानवता उच्च जातको मानवताभन्दा कम महत्त्वको हुन्छ। एकलव्यले गुरु द्रोणाचार्यले
दिइरहेको शिक्षा छद्म रुपमा ग्रहण गरेको थियो ऊ प्रत्यक्ष आएर शिक्षा लिन सक्दैन
थियो, निषेधित थियो जातको कारणले निम्न वर्णको हुनाले। आधुनिक समय
आएर धेरै कुरा बदलियो। देश र समाज धार्मिक पौराणिक नियमले होइन सम्विधानले चल्दछ। सम्विधानले
जात र धर्मको आधारमा नागरिकको अधिकारमा डिस्क्रिमिनेट गर्दैन। सबै नागरिकलाई एक सरह
मान्दछ। सम्विधानले राष्ट्रको शासन प्रणाली निर्धारण गरेतापनि व्यक्ति र समाजमा
सम्विधानको भावना आत्मसात गर्न समय लिन्छ। व्यक्तिको निम्ति सबैभन्दा महत्त्वपूर्ण
उसको परम्परा लाग्छ। कुनै पनि नयाँ परिवर्तन उसको परम्परा अनुरुप छ भने उसले सहज स्वीकार्छ
तर फरक रहे उसलाई स्वीकार्न गाह्रो पर्छ। यही हुनाले भारतको सम्विधानले जात व्यवस्था
निरस्त गरे पनि जातिवाद समाप्त हुन सकेको छैन। हालै सर्वोच्च न्यायलयको मुख्य न्यायाधीश
जो एक दलित हुनुहुन्छ उहाँमाथि एक उच्च जातिको वकिलले जुत्ता प्रहार गरेको घटनाले प्रमाणित
गर्छ जातिवाद जीवन्त छ। दलित समाज पीँधमा रहेको समूह थिए। देश र समाजमा आएको परिवर्तनको कारण उनीहरूको आर्थिक स्तरमा बडोत्त्तरी भए, नयाँ प्रविधिमा पारङ्गत हुन सके। यसले उनीहरूको जीवनमा परिवर्तन आए। यद्यपि
जातको उत्पीडन भने निर्मूल हुन सकेको छैन। नभन्दै "साइबर क्याफेमा एकलव्य"
कविताले महाभारतले बोकेको दलित प्रकरण र आजको समयको दलित मुद्दा दुवै छोएको छैन। वास्तवमा
यो कविता एक दलित कविता होइन र महाभारतको एकलव्यको चरित्रको पुनर्लेखन पनि होइन। पात्रको
नाम मात्र टिपिएको हो र आजको समयको इन्टरनेट फ्रेन्डली युवक युवतीको चित्रण हो।
आजको एकलव्य जङ्गलमा रुखको छहारीमा लुकेर गुरु द्रोणाचार्यले
पाण्डवलाई दिइरहेको शिक्षा गोप्य रुपमा सिक्नु पर्ने छैन। ऊ एक साइबर क्याफेमा इन्टरनेट
चहार्नु सक्छ र संसारभरको ज्ञान कम्प्युटरको किबोर्ड थिचेर प्राप्त गर्न सक्छ।
यस सङ्कलनमा कविले
स्थानीय बिम्व र लोक कथाबाट सिर्जना भएका त्यस्ता लोक बिम्व पनि राखेका छन जसले
कविताको गरिमा मात्र होइन सांस्कृतिक परम्पराको पालन भएको लाग्छ। ती लोक कथा र जादुमय
(msgical) किस्सा
कवितामा आउँदा एक नयाँ
तस्वीर र प्रासंगिकता बोकेर आएका छन। लोक कथाका नायक नायिकाहरू अत्याधुनिक रुपमा
उतारिएका छन। ल्यामल्यामेको प्रकरण नेपाली किराँती परम्परामा रहेको एक रोमाञ्चक सांस्कृतिक
झलक हो। धामीझाँक्री परम्परामा बन झाक्री र बम झाक्रीकी पत्नी ल्यामल्यामे जोडिएर आएको
हुन्छ। बन झाक्री एक सुपात्र हो भने ल्यामल्यामे
एक खलपात्रा हुन। बन झाक्रीले किशोरहरूलाई जङ्गलमा आफ्नो गुफामा लगेर उसको दिव्य
ज्ञान प्रदान गर्दछ। यसरी बनझाँक्रीबाट ज्ञान प्राप्त झाँक्री आफ्नो घर समाजमा
फर्केर आउँदा उसको ठूलो भूमिका बन्दछ। बनझाक्रीले शिक्षा दिन लगेका किशोरहरूको सिकार
गर्न ल्यामल्यामे सदा तत्पर रहने गर्छिन। किशोरहरूको हत्या हुनबाट बचाउने बनझाक्री
नै हुन्छन। मिथकीय कथा अनुसार बन जङ्गलतिर ल्यामल्यामे देखे या उसले खेदिन भने ओह्रालो
भाग्नु पर्नेछ। उसको विशाल वक्ष ओह्रालो बाटोमा सम्हाल्नु गाह्रो पर्छ र उसको गति धिमा
हुन्छ। उसको गति धिमा हुँदा भागेर जान सहज पर्छ। ल्यामल्यामे कुरुप हुन्छिन। नकोरिएको
लामा लामा जटा जस्तो केशराधि, ठूला ठूला राताराता डरलाग्दो आँखाहरू एक भयानक छवि लिएकी।
मिथकमा गरिएको बनझाक्रीकी
पत्नी ल्यामल्यामेको कुरुप चित्रण वास्तवमा प्राचीन समाजमा रहेको चरम पितृसत्तात्मक
मानसिकताको बिम्व हो। प्राकृतिक रुपमा कुनै पनि नारी असुन्दर कुरुप हुँदैन। सबै
नारी आफ्नो स्वाभाविक सौन्दर्य लिएर जन्मेका हुन्छन। कविले "र्याम्पमा ल्यामल्यामे"
कवितामा ल्यामल्यामेलाइ र्याम्पमा उतारेर यही प्रयास गरेका छन र उसको सौन्दर्य
आत्मगौरवको पुनर्स्थापना गरिएका छन। र्याम्पमा देखिने महिला भने पछि अति सुन्दर नारीको
छवि आइहाल्दछ। सौन्दर्यको प्रदर्शन नै हो। जसरी प्रकृति सुन्दर छ उसैको कृति नारी उतिकै
सुन्दर रहेका प्रदर्शनीले देखाउँछ। ल्यामल्यामे पनि एक महिला हो र यहाँ उसलाई
सुन्दर देखाएर लोक कथाको प्रतिलेखन गरिदिएका छन।
दार्जिलिङ चियावारी र कुलैनवारीलाई बिर्सेर
हेर्न सकिन्न। चियावारी दार्जिलिङको चिन्हारी हो। दार्जिलिङ्गको मुटुको धडकन नै हो
चियावारी। दार्जिलिङबाट लेखिने साहित्यमा यही
कारण चिया स्वरलहरी नै भएर रहेको हुन्छ। ६०-६५ वर्ष अघि लेखिएको "आज रमिता छ" उपन्यासदेखि हालै मदन पुरस्कारले सम्मानित
"उरमाल" चियावारी नै केन्द्रीय बनेर रहेको छ। कवि उज्ज्वल दार्जिलिङ
क्षेत्र कै हुनाले उनले पनि यहाँ चियालाई विमर्शको केन्द्रमा ल्याएर कविता राखेका
छन। "चियाबारी सेल्फी", "भेलेन्टाइन डे र कुलैनबारी" र "कुलैनबारी -१" कविताहरूको अन्तर्वस्तु यही रहेको छ।
कवि उज्ज्वलले आतंकवाद, मुस्लिम साम्प्रदायिकता, तेस्रो लिङ्गी, वेश्यावृत्ति, पारिस्थिकी, डायस्पोरा, विस्मृत इतिहास, प्रेम, प्रकृतिदेखि लिएर आत्मकथासम्म कविताको विषयवस्तु बनाएका छन।
विषयवस्तुको विविधताको कारण पाठकलाई पठनमा रोचकता ल्याउन सक्षम रहन सक्ने टेक लिन सकिनेछ।
प्रत्येक कविता
वास्तवमा एक नयाँ रुप र आकारमा आउनुपर्छ। कविताको विशेषता नै यही नवीनतामा अल्झेको
हुन्छ। मलाई लाग्छ कवि उज्ज्वलले आफ्नो कवितामा दिनुपर्ने नवीनता र नवोन्मेषको शर्त
पूरा गरेको छ।
Comments
Post a Comment